बस्तीमा नदिनालाको बाढी पसेपछि झापामा ४३ घर परिवार विस्थापित

बस्तीमा नदिनालाको बाढी पसेपछि झापामा बुधबार ४३ घर परिवार विस्थापित भएका छन्। बाढीले ३ घर बगाएको छ।
पश्चिम दक्षिण गौरीगञ्ज र खजुरगाछिमा गेउरिया खोलाको भंगालो पस्दा स्थानीय वडा नम्बर ८ का १६ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यस्तै सोही खोलाको बाढीको कटानले गौरिगञ्ज ७ मा १० घर परिवार पूर्ण विस्थापित भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय खजुरगाछिका अनुसार त्यहाँ ३ वटा घर भत्काईएको छ।
बाढीले ती बगाउने खतरा बढेपछि घर भत्काईएको प्रहरीले बताएको छ।
यता, कमल खोलाको बाढीले धरमपुर गाविसको ८ नम्बर वडामा किसानले लगाएको धान खेत बगाएको छ। प्रहरीका अनुसार कमल खोलामा आएको बाढीले बलौटे माटो भएको धान खेत बगाएर बगर बनाएको हो। यस्तै, सतासी खोलाको बाढीले शिवसताक्षी नगरपालिका १ मा ३ घर परिवार विस्थापित बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
प्रहरीका अनुसार विस्थापित सबैलाई घरका लत्ता कपडा खाध्यान्न चौपायासहित सुरक्षीत स्थानमा स्थानान्तरण गरिएको छ।
यता बिरिङ नदिमा आएको बाढीले राजगढ ५ मा बुधबार पनि १३ घर परिवार बिस्थापित बनाएको छ। योसँग राजगढमा बिरिङ नदिको बाढीले बिस्थापित बनाउने को संख्या ४७ पुगेको छ।
मंगलबार सो गाविसमा ३४ घर परिवार विस्थापित भएका थिए।
यसैबीच झापाका प्रमुख जिल्ला अधिकारी मदनकुमार भुजेलले विस्थापित  परिवारलाई त्रिपाल, कम्मल र ड्राईफुड लगायतका सामान वितरण गरेको बताए। उनले रेडक्रससँग समन्वय गरेर राहत बितरण गरिने पनि बताए। सेतोपाटीमा समाचार छ ।