उत्तरी गोरखामा नुनको प्रतिकिलो मूल्य रु १५०

गोरखाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ ।
तर, उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ ।
सडक सन्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत् गरिन्छ ।
बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा खच्चडमा गरिने ढुवानी बन्द हुन्छ । नुन, तेल, खुर्सानीको भाउ महँगिएपछि स्थानीयबासी मर्कामा परेका छन् ।
थुमी गाविसको सोतिबजारबाट खच्चडले सात दिन लगाएर तिब्बतसँग सीमाना जोडिएको सामागाउँ गाविस पुर्‍याएको नुन प्रतिकिलो रु १५० मा बिक्री भइरहेको स्थानीय शिक्षक वीरबहादुर लामाले जानकारी दिए ।
एककिलो सामान ढुवानी गर्दा रु ८०/९० पर्छ-उनले भने-भूकम्पपछि राहत र निर्माण सामग्री ढुवानी गर्न भ्याइनभ्याइ छ । भनेजति पैसा पाएपछि खच्चड व्यवसायीले खाद्यान्नको सट्टा निर्माण सामग्री ढुवानीलाई प्राथमिकता दिएका छन् ।
आयोडिनयुक्त नुनको मूल्य रु १५० नाघेपछि स्थानीयबासीले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्न थालेका छन् । ढिके नुनमा आयोडिनको मात्रा कम हुने भएकाले गलगाँडलगायतका विभिन्न रोग लाग्नसक्ने जोखिम हुन्छ ।