गुल्मीका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोले बगाएर ५ जनाको मृत्यु

गुल्मीका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोले बगाएर ५ जनाको मृत्यु भएको छ । ५ घर सहित ३ झोलुङ्गे पुल बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुम प्रहरी उपरीक्षक भोला रावलले दिएको जानकारी अनुसार हस्तिचौर गाविस-१ मल्दीमा आज बिहान गएको पहिरोले भीमबहादुर दर्जीको घर बगाउँदा उनकी ६२ वर्षीया दिदी कालिका दर्जी, ४९ वर्षीया श्रीमती तुलसी दर्जी र १९ वर्षीया बुहारी अस्मिता दर्जीको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै बिशुखर्क-९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपालबहादुर रानाको घर बगाउँदा उनका ९ वर्षीय छोरा सुजन राना र ७ वर्षीया छोरी सिमाना रानाको मृत्यु भएको छ ।
हिजो रातिदेखि परेको अविरल बर्षापछि गुल्मीमै बडिघाट खोलामा आएको बाढीले गुल्मीको जोहाङ-२ मा रहेको उल्लीखोला बजारका ५९ घर परिवार विस्थापित भएका छन् ।
त्यस्तै बडिघाट खोलाले जुनिया गाविस-९ मा रहेको चोरकाटे बजारका धनप्रसाद भट्टराई, पदम गैरे, चेतमान थापा र जोहाङ १ ललितजंग लालचनको घर बगाएको छ ।
गुल्मीकै कुर्घाको भुवाचिदी बजार, पनि बडिघाटको जोखिममा छन् । त्यस्तै बडिघाटसंगै बढेको कालीगण्डकीले रिडी खोला थुनेपछि गुल्मीको धार्मिक स्थल रिडीको रुरु क्षेत्र समेत पुरै डुबानमा परेको छ । कान्तिपुरमा समाचार छ ।