संसद भित्रको दोस्रो प्रमुख दल नेकपा एमालले प्रधानमन्त्री पदमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने भएको छ । स्थायी समितिको मंगलबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । ‘एमाले अब जिम्मेवार प्रतिपक्षमा बस्छ,’ उनले भने । पार्टी भित्र उपाध्यक्ष बामदेव गौतम वा संसदीय दलको उपनेता सुवास नेम्वाङ कसैलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला यस्तो निर्णय आएको हो ।
उम्मेदवारी नदिएपनि कांग्रेस माअोवादी गठबन्धनका उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा एमालेले मतदान गर्नेछ ।
सचिव गोकर्ण विष्टले संविधान कार्यान्वयनमा पार्टीले रचनात्मक भूमिका खेल्नुपर्ने भएकाले त्यसका लागि सहज होस भनेर उम्मेदवारी नदिने निष्कर्षमा पार्टी पुगेको बताए । ‘संविधान कार्यान्वयनमा समन्वयका लागि भोलि संसद भित्र र बाहिरका दलहरुसँग सजिलो होस भनेर उम्मेदवारी नदिइकन विपक्षमा बस्ने निर्णय लिएका हौं,’ विष्टले भने ।
प्रधानमन्त्रीका लागि सम्भावित उम्मेदवार मानिएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘अहिले प्रधानमन्त्री हुन मन नलागेको’ प्रतिक्रिया दिँदै भने ‘हाम्रो पार्टी संविधान कार्यान्वयनमा सघाउँदै सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ ।’
स्रोतका अनुसार आगामी दिनमा फेरि सरकारको नेतृत्वमा पुग्न आफ्नो दलको भूमिका आएका बेला सहज होस भनेरपनि उम्मेदवारी नदिने पक्षमा एमाले पुगेको हो ।
पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष केपी ओलीले नेम्वाङलाई उम्मेदवार बनाउन चाहेका थिए । तर, उपाध्यक्ष गौतम भने पूर्व सहमति अनुसार आफूलाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान लिएपछि उम्मेदवार कस्लाई बनाउने विषयमा सहमति जुट्न नसकेपछि उम्मेदवारी नै नदिने निर्णयमा बैठक पुगेको हो । कान्तिपुरमा समाचार छ ।