प्रधानमन्त्री दाहालद्वारा नयाँ संविधानलाई संशोधन गरेरै भएपनि आदिवासी जनजातिका माग सम्बोधन गर्ने आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधानलाई संशोधन गरेरै भएपनि आदिवासी जनजातिले उठाउँदै आएका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
२२औं आदिवासी दिवसको अवसरमा मंगलबार काठमाडौंमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको संविधानलाई सर्व-स्वीकार्य बनाउनका लागि आदिवासी-जनजातिको माग सम्बोधन गर्न आफू सकारात्मक रहेको बताए ।
उनले संविधान संशोधन गरी आदिवासीको माग समावेश गर्न सकिए त्यसपछिमात्रै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुने धारणा राखे ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले हरेक वर्ष अंग्रेजी महिनाको अगस्ट ९ तारिखका दिन संयुक्त राष्ट्रसंघले मनाउँदै आएको आदिवासी दिवसलाई अर्को वर्षदेखि सरकारको तर्फबाट मनाउने घोषणासमेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ संविधानमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै त्यसलाई कार्यान्वयन गर्ने बाटोमा अघि बढनुपर्ने धारणा राखे ।
त्यसपछिमात्रै थप कुरा संविधानमा समेट्न सकिने उनको भनाइ छ । इमेजखबरमा समाचार छ ।