काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्। बुधबार बालुवाटारमा भएको रिपोटर्स् क्लवका प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारीसमेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ, उनले भने, मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु।
प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको पनि जानकारी दिए। अहिलेको चुनौति र अवसरपूर्ण क्षणमा दोस्रोपटक प्रधानमन्त्री भएकाले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने आफ्नो मुख्य जोड रहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले विगतका तीता मिठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममुखी काम गर्नेछु, उनले भने, आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिनेछु।
प्रधानमन्त्री दाहालले सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पूर्ननिर्माण र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने भ्रष्टाचार, कालो बजारी नियन्त्रण गर्ने कुरामा प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, मैले यसबारेमा जनताले प्रत्यक्ष राहत महशुस गर्ने गरी द्रूतगतिमा काम गर्न सचिवहरुलाई निर्देशन दिईसकेको छु । उनले आफूले प्रभावकारी र शक्तिशाली अनुगमन गर्ने कुरालाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
विगतमा भारत र नेपालको महँगी अनुपात लगभग समान रहेको पाइएपनि अहिले भारतको बजार उस्तै रहेको तर नेपालमा मूल्यवृद्धि ह्वात्तै बृद्धि हुनु चिन्ताजनक भएको भन्दै प्रधानमन्त्री दाहालले भने,मुल्यवृद्धि र कालोबजारी रोक्नेबारेमा मेरो पुरै ध्यान केन्द्रित रहन्छ ।
भूकक्पपछिको मुलुकको पूर्ननिर्माण असाध्यै ढिलो गतिमा बढेको उल्लेख गर्दै आफुले पहिलो क्याविनेट बैठकबाटै ४५ दिनभित्र भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराउन निर्देशन दिईसकेको बताए । उनले थपे,भूकम्पपीडितलाई राहत दिने कुरामा र सरकारले गरेको निर्णय कार्यान्वयन गराउन मैले निर्देशन दिइसकेको छु ।
संविधानको सर्वस्विकार्यताको लागि मधेशी, जनजाति, थारु, आदिवासी, पिछडिएका वर्ग लगायत सबैका समस्या हल गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउनु नै आफ्नो जिम्मेवारी भएको प्रधानमन्त्री दाहालको भनाई थियो । उनले थपे,संविधान कार्यान्वयन आजको आवश्यकत्ता हो, यसमा सबै दलहरु एकजुट हुनुपर्छ । नागरिकन्युजमा समाचार छ ।