काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट कोसीपारी जाँदै गरेको बा३ख १०६ नम्बरको बस बिर्तादेउराली-७ खहरेखोलानजिकैको डाँडाबाट करिब ४ सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घटनास्थल पुगेको प्रहरीले ३३ ओटा शव संकलन गरिसकेको र अरुको खोजी तथा उद्धार भइरहेको प्रहरी निरीक्षक नरेश महतोले जानकारी दिए ।
नजिकैको विद्यालयबाट गएका विद्यार्थी र स्थानीयहरुले उद्धारमा प्रहरीलाई सहयोग गरिरहेको जनाइएको छ ।
शवहरु रुखहरुमा अड्किएको अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा अरु २७ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।
कच्चीबाटोका कारण घाइतेहरुलाई अस्पताल ल्याउन कठिनाइ भएपछि नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको छ ।
निकै ठूलो दुर्घटना भएको भन्दै काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र प्रहरी प्रमुख एसपी राजेश बास्तोला पनि घटनास्थलतर्फ गएका छन् ।
घटनास्थल धुलिखेलबाट ४५ मिटर टाढा पर्दछ । कच्चीबाटोमा गाडी ‘ओभर लोड’ भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । इमेजखबरमा समाचार छ ।