एमालेले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माण र निर्वाचनका लागि दबाब दिने

एमाले नेताहरुले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माण र निर्वाचनका लागि दबाब दिने गरी पार्टीको भूमिका सक्रिय पार्न नेतृत्वलाई सुझाव दिएका छन् । स्थायी समितिको पाँच दिनदेखि जारी बैठकमा बोल्ने क्रममा बिहिबार नेताहरुले अबको मुख्य ध्यान संविधान कार्यान्वयन र निर्वाचनमा केन्द्रित गर्नुपर्ने धारणा राखेका हुन् । कान्तिपुरमा समाचार छ । 
विगतको सरकारको समिक्षा र आगामी रणनीतिका बिषयमा उनीहरुले बैठकमा बोलिरहेका छन् । बिहीबार घनश्याम भुषाल, पृथ्वी सुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा. पुष्प कँडेल, केशब बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा राखेका थिए । 
‘धेरै नियमित कामहरु छन् ती काम संगसंगै मुख्य रुपमा निर्वाचनसम्बन्धी कानुनहरु निर्माण गर्ने र चुनावका काममा बढी केन्दि्रत हुनुपर्छ भन्ने धारणा बैठकमा आएको छ’, बैठकपछि सचिव योगेश भट्टराईले भने । सत्तारुढ दलहरुका गतिविधि संविधानको समयसिमाभित्र चुनाव नगर्नेतर्फ नै केन्दि्रत भइरहेकाले प्रतिपक्षी भूमिका सक्रिय पार्नुपर्ने उनीहरुको धारणा थियो । पार्टी सञ्चालनमा आन्तरिक कमीकमजोरी रहेकाले अब त्यसलाई सच्चाउदै  नवौं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा संगठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्न पनि नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । आगामी चुनावी प्रतिस्पर्धामा बहुमत सहितको पहिलो पार्टी बनाउने अठोट सात संगठनात्मक सक्रियता बढाउनुपर्ने उनीहरुले उल्लेख गरे । 
बोल्ने क्रममा नेताहरुले विगतको सत्ता गठबन्धनको कामकारवाहीबारे नै बढी चर्चा गरेका थिए । संविधान निर्माण लगत्तै संविधानको कार्यान्वयन, मुलुकले व्यहोर्नु परेको अनपेक्षित नाकाबन्दी, तराई क्षेत्रमा देखिएका तनाव, कतिपय प्रतिकुल भू-राजनीतिक अवस्थाका बीचमा पनि  अध्यक्ष केपी ओली नेतृत्वको सरकारले  संवैधानिक तथा लोकतान्त्रिक स्थायित्व कायम गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल धारणा नेताहरुको थियो ।  राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउँदै चौतर्फी विकासको माध्यमबाट समतामूलक तथा न्यायमूलक समृद्धि हासिल गर्ने दिशामा उक्त सरकारले सकारात्मक पलहकदमी लिएको बैठकको ठहर छ ।  सत्ता गठबन्धन सञ्चालनमा कमजोरी पनि भएको उल्लेख गर्दै उनीहरुले त्यसलाई पार्टी भित्र आन्तरिक समिक्षाको बिषय बनाउने तर सकारात्मक कामलाई पुँजीको रुपमा लिदै जनतासमक्ष लैजानुपर्ने धारणा नेताहरुको थियो । बोल्ने क्रम जारी रहेको शुक्रबार पनि स्थायी समितिको बैठक जारी रहनेछ । बोल्ने क्रम सकिएपछि अध्यक्ष ओलीले बैठकमा उठेका प्रश्नहरुको शुक्रबार नै जवाफ दिने संभावना छ । कान्तिपुरमा समाचार छ ।