सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जान थालेपछि दाङमा यातयात क्षेत्रमा कडाइ

सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जान थालेपछि दाङमा यातयात क्षेत्रमा कडाइ गर्न थालिएको छ। देशका पूर्वी भागमा यातायात सञ्चालनका लागि रुट परमिटमा कडाइ भइरहँदा दाङमा पनि त्यसको अभ्यास सुरू भएको छ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी इजाजत पत्र नलिई सञ्चालन हुँदै आएका यातायातका साधन शनिबारदेखि रोक लगाउन सुरू गरिसकेको छ। एकाएक बस रोकिएपछि गनतव्यमा जान हिँडेका यात्रुहरू भने अलपत्र परेका छन्।
 
मापदण्ड विपरीत सञ्चालन भएका र रुट इजाजत पत्र नलिएर आफूखुसी सञ्चालन हुँदै आएका बसहरुलाई निगरानी सुरू गरिएको तथा सञ्चालनमा रोक लगाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
 
यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरबाट सडक इजाजत पत्र नलिएर सञ्चालन भएका बस रोक्न निर्देशन आएकोले रोकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए। यातायात व्यवस्था कार्यालय राप्तीबाट स्थायी र अस्थायी रुट परमिट नलिएका एक दर्जन बढी बसलाई नियन्त्रण गरी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर दाङमा पठाइएको सिंहले बताए।
 
सरकारले तोकेको मापदण्डबिनै र रुट परमिट नलिएर गाडी चलाउदा दुर्घटना भएपछि कडाइ गर्न निर्देशन दिएको थियो। व्यवस्था कार्यालयले १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ। सेतोपाटीमा समाचार छ ।