काँग्रेसका जिल्ला सभापतिहरुद्वारा स्थानीय तहको संख्या अहिले प्रस्ताव गरिएको भन्दा दोब्बर बनाउन सुझाव

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले स्थानीय तहको संख्या अहिले प्रस्ताव गरिएको भन्दा दोब्बर बनाउन सुझाव दिएका छन्।
नेपाली काँग्रेसले काठमाडौमा गरेको दुई दिने भेलामा सहभागी जिल्ला सभापतिहरुले स्थानीय तहको पुनर्संरचनाका लागि गठित आयोगले अहिले प्रस्ताव गरेको संख्या कम भएको भन्दै प्रस्तावित संख्या दोब्बर हुने गरी स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न सुझाव दिएका हुन्।
काँग्रेसका जिल्ला सभापतिहरुले एक हजार भन्दा कमको संख्यामा स्थानीय तह बनाउँदा आमजनताले सरकारी सेवा सुविधा पाउन अहिलेभन्दा बढी सास्ती झेल्नुपर्ने तर्फ सचेत हुन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । उनीहरुले आयोगले हिमाल, पहाड र तराईका स्थानीय तहका लागि तोकेको जनसंख्याको आधार धेरै भएको भन्दै भूगोलका आधारमा जनसंख्याको सीमा घटाइनुपर्ने बताए।
काँग्रेसका जिल्ला सभापतिहरुले संख्या बढाउने गरी स्थानीय तहको संख्या र सीमाना निर्धारणका लागि आयोगको कार्यदेश परिमार्जन गरिनुपर्ने पनि बताए । उनीहरुले मापदण्डमा एकमत हुन नसकेको अवस्थामा अहिले विद्यमान ९ सय २७ वटा इलाकालाई स्थानीय तहको मान्यता दिंदा फरक नपर्ने  पनि बताएका छन् ।
काँग्रेसले जिल्ला सभापतिहरुलाई ७ वटा प्रदेशमा विभाजन गरेर अलग अलग समूहमा छलफल गराएको थियो । सातवटै प्रदेशले आफ्नो समूहको छलफलको निष्कर्ष भेलामा पेश गरेका छन् ।
जिल्ला सभापतिहरुले दिएको सुझावका आधारमा स्थानीय तहको संख्या र सीमानाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिने काँग्रेसले जनाएको छ । सेतोपाटीमा समाचार छ ।