राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राष्ट्रिय एकता,
सुरक्षा,
आर्थिक कूटनीतिलाई सवल बनाउनु अहिलेको आवश्यकता रहेको बताएकी छन् । त्यस क्षेत्रमा देखिएको
चुनौती चिर्दै अघि बढ्नुपर्ने समेत उनले बताइन् ।
राष्ट्रिय स्वाभिमानलाई शिरमा राखी उच्च नैतिक आचरण कायम राख्दै कार्य गर्न, कमजोर
मानसिकतालाई परिवर्तन गर्दै कूटनीतिक क्षेत्रलाई सवल, सक्षम
बनाउनु पर्नेमा राष्ट्रपति भण्डारीको
जोड छ । कूटनीति सेवा नेपालको बाहिरी
दुनियासँग देखिने अनुहार र ब्यवहार
हुनाले यो आफैंमा गम्भिर सेवा भएकोले
त्यसमा सचेत भएर काम गर्नुपर्ने उनले
बताइन् ।
परराष्ट्र सेवामा उत्तीर्ण गर्ने सबै
तहका अधिकारीहरुलाई प्रशिक्षण दिँदै आएको परराष्ट्र मामिला
अध्ययन प्रतिष्ठान(आईएफए)ले
अधिकृतहरुलाई पनि तीन महिने प्रशिक्षण
दिएको छ । कार्यालयमा दैनिक काममा
असर नपर्ने गरी बिहान प्रशिक्षण दिइने
गरिएको थियो । प्रशिक्षण सम्पन्न
भएपछि परराष्ट्र सेवाका शाखा अधिकृतहरु
विभिन्न विशिष्ट ब्यक्तिसँग
अन्तक्र्रिया गराउने क्रममा उनीहरुलाई
राष्ट्र प्रमुखलाई भेटाइएको हो ।
भेटमा राष्ट्रपतिले भनिन्, राष्ट्रिय
एकता, सुरक्षा र कूटनीतिमा चुनौती छ । यसलाई
सबल बनाउन आवश्यक छ ।
राष्ट्रपति भण्डारीले जनमुखी निजामती प्रशासन नारामा होइन,
ब्यवहारमा उतार्नपर्ने सुझाव समेत दिइन्
। आइएफएद्वारा समन्वय गरिएको भेटघाटको अवसरमा प्रतिष्ठानका
कार्यकारी निर्देशक प्रा.डा. पन्नाकाजी अमात्यले प्रतिष्ठानको बारेमा
जानकारी गराएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा छ । उनले अधिकृतहरुलाई
प्रदान गरिएको सेवाकालीन तालिमको बिषयवस्तु समेत त्यहाँ प्रस्तुत गरेर
राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
शिष्टाचार भेटको क्रममा राष्ट्रपतिबाट
आइएफएलाई थिंक ट्यांकको रुपमा सवल बनाएर अघि बढाउन पर्नेमा बताइन् ।
अहिले पनि आइएफएले गर्दै आएको कामले परराष्ट्र मन्त्रालयलाई सहयोगसमेत
पुगेको उनको भनाई छ । तालिममा सहभागी अधिकृतहरुलाई सुखद् भविष्यको कामना
पनि उनले गरिन् । अहिलेको अधिकृत नै पछिको राजदूत, सचिव
हुन् भन्दै त्यसमा ध्यान दिएर
मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्न
उनले सुझाएकी छन् ।
प्रतिष्ठानका उपकार्यकारी
निर्देशक हेमराज कार्कीले प्रतिष्ठानको काम,
कर्तव्य र भौतिक अवस्थाको
बारेमा जानकारी दिँदै भूकम्पले आईएफएको भवन पूर्णरुपमा क्षति भएकोले
नयाँ भवन निमार्णको लागि पहल गरिदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । प्रतिष्ठानका वरिष्ठ श्रोत व्यक्ति माधवजी श्रेष्ठले
तालिम ज्ञान हस्तान्तरण गर्ने सबैभन्दा सहज माध्यम भएकोले साधन श्रोत र समय
कम खर्चले समेत सेवाकालीन तालिमले कर्मचारीलाई फाइदा पुग्ने बताए ।
कार्यक्रममा सहभागीहरुको
तर्फबाट ऋचा भट्टराईले मुलुकको पहिलो महिला राष्ट्रपतिसँगको भेटले
कार्य क्षेत्रमा ऊर्जा थपेको र तालिम उपलब्धिमूलक रहेको बताइन् । त्यस्तै, शुभांग पराजुलीले तालिम उपयोगी रहेको, व्यवहारिक
भएको र छोटो समयमा पनि कूटनीतिका धेरै विषयको जानकारी प्राप्त गर्ने अवसर
पाइएको बताए ।
राष्ट्रपतिका परराष्ट्र मामिला
सल्लाहकार डा. मदनकुमार भट्टराई तथा अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो ।
कान्तिपुर बाट



