विश्वभरका नेताहरुद्दारा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुन: निर्वाचित भएकोमा बधाई

news

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई ऐतिहासिक जित दिलाएकोमा विश्वभरका नेताले उनलाई बधाइ दिएका छन् ।

बिहीबार भएको मतगणनामा भारतीय जनता पार्टीले ऐतिहासिक जित हासिल गरेको हो । योसँगै मोदीले दोस्रो कार्यकाल सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।

ऐतिहासिक जित हासिल गरेकोमा मोदीलाई विश्वभरका नेताले बिहीबार बधाइ दिएका छन् । 

प्रधानमन्त्री केपी ओलीदेखि लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले बिहीबार मोदीलाई बधाइ दिए । अधिकांश नेताले ट्वीटरमार्फत मोदीलाई बधाइ दिएका हुन् ।

मोदीले आफूलाई बधाइ दिने सबैजसो नेतालाई धन्यवाद दिएका छन् । उनले ट्वीटरमा आएका बधाइ सन्देशमा जवाफस्वरुप धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री ओलीले दिएको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘तपाईको हार्दिक शुभकामनाका लागि धन्यवाद ।’ नेपाल र भारत पुरानो समयदेखि घनिष्ठ मित्र र छिमेकी देश रहँदै आएको चर्चा गर्दै उनले दुई देशका नागरिकबीचको सम्बन्धले यसलाई अझ मजबुत बनाएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा लैजान प्रधानमन्त्री ओलीसँग सहकार्य जारी राख्न चाहेको जनाएका छन् ।

नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले दिएको बधाइ सन्देशको जवाफमा मोदीले नेपालसँग पारम्परिक रुपमा घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन आफू प्रतिबद्ध रहेको जनाएका छन् ।

images

राप्रपा अध्यक्ष कमल थापाको बधाइ सन्देशको जवाफमा मोदीले भारत नेपालसँग घनिष्ठ ऐतिहासिक सम्बन्ध र बहुआयामिक साझेदारीलाई महत्व दिने जनाएका छन् ।

images

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको बधाइ सन्देशको जवाफमा मोदीले यस क्षेत्रमा आफूले जहिले पनि शान्ति र विकासलाई प्राथमिकता दिएको जनाएका छन् । उनले बधाइ सन्देशका लागि इमरानप्रति हार्दिक आभारसमेत प्रकट गरेका छन् ।

images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘म तपाईसँग निकटतापूर्वक द्विपक्षीय सम्बन्धका लागि काम गर्न उत्सुक छु, जो वैश्विक शान्ति र समृद्धिका लागि राम्रो होस् ।’ 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मोदीलाई ट्वीटरमा हिन्दी भाषामै बधाइ सन्देश दिएका छन् । उनले भनेका छन्, ‘तपाईको प्रभावशाली जितमा हार्दिक बधाई, यो चुनावी नतिजाले एक पटक फेरि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईको नेतृत्वलाई प्रमाणित गरेको छ ।’

जवाफमा मोदीले हिब्रो भाषामा भनेका छन्– धन्यवाद मेरो प्यारो मित्र, तपाईको बधाइ मेरालागि धेरै महत्व राख्छ, मलाई विश्वास छ, आगामी दिनमा हामी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने छौं ।’ एजेन्सी

Nepal life insurance