प्रकाशित मिति: भदौ ८ , २०७६
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची /भदौ ८ । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जनताको काम सम्पादनमा ढिला सुस्ति नगर्न कर्मचारीहरु लाई निर्देशन दिनुभएको छ ।
गरिव तथा बिपन्न जनताले तिरेको करको रकम बाट तलब भत्ता बुझ्ने कर्मचारी जनताको कामप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाई थियो । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित कार्यालय प्रमुख हरुको भेलामा मन्तव्य राख्दै उहाँले फाटेको टोपी र उध्रेको चोलि लगाएर खालिखुट्टा र भोको पेट काम लिएर कार्यालयमा आउने सेवाग्राहीलाई दु:ख दिनु र घुसखान खोज्नु महापाप भएको बताउँदै त्यस्ता कर्मचारी लाई तत्कालै कार्वाही गरीने बताउनु भयो । जनताको काममा ढिला सुस्ति गर्ने र घुसखाने कर्मचारीको सरकारले निगरानी गरिरहेको भन्दै उहाँले भ्रष्टाचारी ,अल्छी र अटेर कर्मचारी सरकारको निशानामा पर्ने बताउनु भयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका बास्कोटाले राजनीतिक संरक्षण ,प्रशासनको मौनता अपराधीक मनोवृत्तिका कारण भ्रष्टाचार मौलाएको भन्दै हरेक खालका हर्कत रोकेर जनता लाई सुशासनको अनुभुती दिलाउने दावी गर्नुभयो । सरकार परिवर्तनको हल्ला लाई बेतुकको संज्ञा दिदै उहाँले व्यक्ति परिवर्तन भएपनि वर्तमान सरकारले पुरै ५ बर्ष कामगर्ने दृढता व्यक्त गर्नुभयो । प्रशासन र सुरक्षा निकायलाई सचेत पार्दै उहाँले निर्दोष व्यक्ति लाई कार्वाही गरेमा उसमा बिद्रोरी मानसिकता पैदा हुने भन्दै बास्कोटाले सरल व्यबहारका साथ जनता बीच प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । कर्मचारी तन्त्रमा युनियन हाबि भएको प्रती गुनासो गर्दै राजनीतिक आडमा सरुवा र बढुवा हुने परिपाटी लाई पुर्णरुपमा निर्मुल पारेको बताउनु भयो । सरकारले कुनै पनि कर्मचारी लाई पक्ष र बिपक्षीका रुपमा नहेरी समान रुपमा हेर्ने र कामका आधारमा मुल्यांकन गरि पुरस्कृत र दण्डित गर्ने बताउनु भयो ।
जनताले राजनितीक दलका नेता र कर्मचारीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै उहाँले भन्नुभयो हामी सबै सच्चिएर जनता बीच जानुपर्छ र सरकारको तलबखाने कुनै पनि व्यक्तिले यो वा उ बाहनामा भ्रष्टाचार गर्न पाइँदैन । वर्तमान सरकारको गठन पछि धमाधम भ्रष्टाचारी कार्वाही परेको भन्दै सचेतता पुर्वक जनताको सेवामा समर्पित हुन उहाँले सिङ्गो कर्मचारी तन्त्रलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बिजयलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभाका सदस्य द्वय चेतनारायण आचार्य,रामजी प्रसाद घिमिरे ,सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोर ,प्रेस चैतारी नेपालका पुर्व अध्यक्ष राजेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका कार्यकर्ता लाई जिल्ला पार्टी कार्यालयमा संवोदन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहनुभएका संचार तथा सुचना प्रविधि मन्त्री बास्कोटाले सरकारले गरेका राम्रा कामको बचाउ गर्न कार्यकर्ता लाई आग्रह गर्नुभयो । मुलुकमा सरकार परिवर्तन मात्र नभएर व्यवस्था समेत परिवर्तन भएको भन्दै उहाँले सरकार निर्माणको छोटो अबधिमा करीब तीनसय कानुन निर्माण गरि जनताको बलिदान बाट प्राप्त उपलब्धि लाई संस्थागत गरिएको बताउनुभयो । वर्तमान सरकारले सस्तो लोकप्रियताको निम्ति नभई दीर्घकालीन सोचका साथ बिकासको कामलाई अगाडि बढाएको उहाँको भनाइ थियो । नेता बास्कोटाले गुटगत राजनीति बाट माथी उठ्न कार्यकर्ता लाई आग्रह गर्दै उच्च मनोवलका साथ पार्टी निर्माणमा जुट्न पर्ने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क.किशोरको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य द्वय नजिर मियाँ ,शुशिला श्रीपाली लगायतको उपस्थिति रहेको थियो ।