बाँगीमा ठूलो जनसागर उर्लियो, प्रकाश सपुतले हजारौंलाई नचाए (भिडियो, तस्बिर सहित)

प्रकासित मिती: (२०७६ आश्विन २३, विहिबार )
शोभाखर पन्थी 
बाँगी, अर्घाखाँची असौज २३  ।  अर्घाखाँची जिल्लाको बाँगीमा ठूलो संख्यामा जनसागर उर्लेको छ । 
शान्ति माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा बाँगीमा आयोजित बार्षिक उत्सब तथा विशाल सांस्कृतिक कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा स्थानीय बासिन्दा कार्यक्रम स्थलमा जुटेका थिए । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरुले सयौं स्थानीय बासिन्दा लाई छमछमि नचाएका थिए ।
मुलुककै चर्चित कलाकार प्रकाश सपुतको गितमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नाचेको नाच कार्यक्रममा निक्कै रोचक थियो । अर्घाखाँची जिल्ला बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य समेत रहनु भएका रायमाझीले नृत्यगर्दा हजारौंको संख्यामा रहेका स्थानीय बासिन्दाले तालिको गडगडाहटले स्वागत गरेका थिए त कोही स्थानीय रायमाझी सँगसँगै नाच्नको निम्ति निक्कै उत्सुक देखिन्थे । रायमाझी सँगै मञ्चमा रहनुभएका राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का , प्रदेश सभाका सदस्य चेतनारायण आचार्य लगायत जिल्ला स्तरका अन्य नेताहरूले रायमाझीलाई सँगसँगै नाचेर साथ दिनुभएको थियो ।
कार्यक्रममा चर्चित कलाकार प्रकाश सपुतले गाएका आधा दर्जन बढी गितमा स साना बालवालिका देखि बृद्धबृद्धा सम्मका सबै सर्वसाधारण जनता धितमर्ने गरि खुलेर नाचेका थिए। कलाकार प्रकास सपुतले कतिबेला दर्शकलाई पेट मिचिमिचि हसाउँथे त कतिबेला भावुक गित गाएर भावनामा डुवाउँथे । कलाकार सपुतले बिदेशीको पिंडाको गित प्रस्तुत गर्दा नेताहरुको अनुहार समेत निक्कै मलिन देखिन्थ्यो । उनले जिल्लाको बिकास र जनताको सेवामा जुटेको भन्दै नेताहरुको खुलेर प्रसंसा समेत गरेका थिए । छोंटो समयमा अर्घाखाँचीमा धेरै बिकास भएको देख्न पाउँदा गर्व लागेको भन्दै उनले यो शन्देस देशैभरी पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको एक भव्य समारोहका वीच पुर्व उपप्रधानमन्त्री ट‍ोपबहादुर रायमाझीले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताउनु भयो। नेपाली जनताको ठुलो बलिदान बाट मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको भन्दै उहाँले अब सिङ्गो मुलुकको ध्यान आर्थिक उपार्जनमा केन्द्रीत भएको बताउनुभयो । सामन्ती राज संस्थाको अन्त्य र गणतन्त्रको स्थापना भईसक्दा पनि जनताको जीवन स्तर उस्तै रहेको भन्दै उहाँले बिकास र समृद्धि मार्फत जनताको जीवन स्तर माथि उठाउने बताउनु भयो ।
छोटो अबधिमा पनि अर्घाखाँची जिल्लामा थुप्रै बिकासका कामहरू भएको बताउँदै रायमाझीले जिल्ला लाई देशकै नमुना जिल्ला बनाउने दाबीसमेत गर्नुभयो ।
राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले शिक्षामा आमुल परिवर्तनको खाँचो रहेको बताउनुभयो । उहाँले बैज्ञानिक , प्राबिधिक र जनबादि शिक्षाको बिकासमा जोडदिनु भयो ।
प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्दै गएको बताउनुभयो । उहाँले पुरानो शिक्षा प्रणालीका कारण मुलुकमा बेरोजगारी बढेको भन्दै दक्ष प्राबिधिक जनशक्ति उत्पादन गरि मुलुकको आवस्यकता पुरागर्ने बताउनुभयो । जिल्लामा २ बर्ष भित्रमा घरघरमा खानेपानीको व्यवस्था मिलाउने ,जिल्लालाई काठका पोलमुक्त पार्ने,युवालाई कृषि ,पशुपालन ,फलफुल खेति र पर्यटन व्यवसायमा आकर्षित गरि स्वरोजगार बनाउने उहाँको भनाइ थियो ।
शान्ति माध्यमिक बिद्यालय भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष गणेश खनालको अध्यक्षता र सहसचिव तिलक टण्डनको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सदस्य तोज बहादुर रायमाझी , जिल्ला कार्यालय सदस्य पिताम्बर भुसाल ,समाजबादी नयाँ शक्तिपार्टीका नेता खिम बहादुर बिश्वकर्मा ,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल ,मालारानी गाउँपालिका वडा नं. ५ का अध्यक्ष शोभाखर भुसाल ,नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी , भुतपुर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष ज्ञानबहादुर अधिकारी लगायतका बक्ताहरुले मन्तव्य राख्दै शान्ति माध्यमिक बिद्यालयको बिकासमा भुतपुर्व बिद्यार्थी समाजको महत्वपुर्ण योगदान रहेको बताउँदै थप सहयोगको निम्ति सबैको ध्यानाकर्षण गराउनु भयो ।
२०१९ सालमा स्थापना भएको शान्ति माध्यमिक बिद्यालयमा २०३४ सालमा निम्नमाध्यमिक ,२०४६ सालमा माध्यमिक र २०६६ साल देखि कक्षा ११ र १२ को पठनपाठन सुरु गरिएको थियो । करिव ६ सय बिद्यार्थी संख्या रहेको बिद्यालयमा हाल प्राबिधिक तथा व्यबसायीक शिक्षा अन्तरगत कम्प्युटर ईन्जिनियरिङ धारमा कक्षा ९-१२ सम्मको पठनपाठन हुने गरेको बिद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेले बताउनुभयो । अतिकम शुल्कमा पढाइ हुने कम्प्युटर ईन्जिनियरिङ पठनपाठनको निम्ति शहर बजार बाट समेत बिद्यार्थी आउने गरेको प्रधानाध्यापक पाण्डेको भनाइ छ । शान्ति माध्यमिक बिद्यालयले पछिल्लो दशक शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै एस.ई.ई.र माध्यमिक तह कक्षा ११ र १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । बिद्यालयमा सुबिधा सम्पन्न भवन निर्माण गर्नुका साथै बिद्यार्थी मैत्री वातावरण निर्माण गरिएको छ । जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित यस बिद्यालयमा करिब ९ बर्ष देखि बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले नेतृत्व गर्दै आउनु भएको छ । सहि र सक्षम नेतृत्व पाए हरेक संस्था सफल बन्छन् भन्ने कुराको गतिलो उदाहरण बनेको छ शान्ति माध्यमिक बिद्यालय ।
यस बिद्यालयमा २०६३ सालमा भुतपुर्व बिद्यार्थी समाजको गठन गरिएको हो । देश बिदेशमा रहेका पुर्व बिद्यार्थीहरुको सहयोगमा गठित समाजले उच्च माध्यमिक तह संचालन ,पुस्तकालय स्थापना,अक्षयकोष स्थापना,भवन निर्माण ,स्मारिका प्रकाशन लगायतका विद्यालय बाट संचालित सबैखाले काममा यथासक्य सहयोग पुर्याउँदै आएको समाजका संस्थापक अध्यक्ष ज्ञानबहादुर अधिकारीले बताउनुभयो । समाजले प्रत्येक बर्ष दशैंको द्वादशिको दिन साधारणसभा तथा वृहत् सांस्कृतिक कार्यक्रम संचालन गर्दै आई रहेको छ । 

अन्य समाचारहरु