अर्घामा भगवती मन्दिरको दर्शन गर्नेहरुको घुइँचो, आन्तरिक पर्यटक बढे ( तस्बिर सहित)

नबिन केसी
अर्घा, अर्घाखाँची असोज २६  । अर्घाखाँचीमा सरायँ नाचले आन्तरिक पर्यटक बढेका छन । आज आइतबार हिन्दूहरुको महान पर्व दसैंअन्तर्गत कोजाग्रत पुर्णिमाको दिन । यो समय अर्घाखाँचीको अर्घा दरबारामा सरायँ नाच नाचिन्छ । अर्घामा भगवती मन्दिरको दर्शन गर्नेहरुको घुइँचो बढेको छ । दसैंदेखि नाचिने यो नाच पूर्णिमाको दिन समापन गरिन्छ । 
सरायँ नाचका कारण यस वर्ष जिल्लामा आन्तरिक पर्यटकहरु बढेका छन् । सरायँ नाच अवोलकन गर्न हजारौंको संख्यामा आन्तरिक पर्यटकहरु जिल्लाको अर्घा, मालारानी, खाँचीकोट, ठाडा, भण्डार थुमलगायतका क्षेत्रमा पुगेका छन् । तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देविहरुको प्रतिकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शनसहित नाच्दा देवी खुसी हुने जनश्विास रहिआएको छ । सरायँ नाच अर्घाखाँचीको मौलिक नाचको रुपमा परिचित छ । 
देविले महिसासुर र शम्भुको बध गरेको खुसीयालीमा बिजया दशमीको दिनदेखि पूर्णिमासम्म नाच्न थालिएको अर्घाखाँची कला संस्कृति संरक्षण मञ्चका अध्यक्ष जनार्दन खनालले बताए । ‘यो अर्घाखाँचीको मैलिक र परम्परागत नाच हो,’ उनले भने, ‘यो नाच जितको खुसीयालिमा नाचेर मनाउने गरिन्छ ।’ सरायँ नाच अर्घाखाँची र आसपासका जिल्लामा बढी प्रचलित छ । 
अर्घामा भगवती मन्दिरको दर्शन गर्नेहरुको घुइँचो 
बाइसे र चौबिसे राज्यका पालामानै निर्माण गरिएको भगवती मन्दिरमा दर्शन गर्नेहरुको आइतबार बिहान घुइँचो लागेको छ । बिहानै केही नखाई  मन्दिर पुगी दर्शन गरेपछि मात्र घरबाट लगेको खाजा नास्ता खाने गरिन्छ । आइतबार बिहान ११ बजेसम्म १० हजार भन्दा बढी भक्तजनहरुले दर्शन गरेको अर्घा भगवती मन्दिर पूर्वाधार व्यवस्थापन समितीका अध्यक्ष सरोज भुसालले बताए । भुसालका अनुसार कोजाग्रत पूर्णिमाको दिन फूलपाति विसर्जन गरी नाच समापन गरिन्छ । 

अन्य समाचारहरु