शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनता पार्टी नेपालका महिला नेतृहरुले नेकपा र नेपाली कांग्रेसले परिवर्तनलाई आत्मसाथ गर्न नसकेको बताएका छन् । सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै उनिहरुले वर्तमान नेकपाको सरकार र प्रमुख प्रतिपक्षी दलमा नेपाली कांग्रेसमा रहेको पुरातनवादी सोंच राष्ट्र निर्माणको निम्ति बाधक रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै जनता पार्टी नेपालका केन्द्रीय सदस्य नरमायाँ ढकालले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसक्दा जनताको जीवन स्तरमा कुनै सुधार आउन नसकेको बताउनुभयो । उहाँले गणतन्त्रको स्थापना भएपनि जनता पुर्णरुपले अधिकार सम्पन्न हुन नसकेको बताउनुभयो । प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका ढकालले जनभावना अनुसार सरकारले कामगर्न नसकेको आरोप लगाउनु भयो ।
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभाका सदस्य कल्पना पाण्डेले राष्ट्रिय जनता पार्टी सँग बिगतमा गरिएका संझैता अक्षरस कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । नेकपा नेतृत्वको वर्तमान सरकारले परिवर्तनलाई आत्मसाथ गर्न नसकेको उहाँको गुनासो थियो । महिला नेतृ पाण्डेले जनतालाई अधिकार सम्पन्न बनाउन पुनः अर्को आन्दोन गर्नुपर्नेमा जोड दिनुभयो ।
संसदको तेस्रो ठुलो दल राजपाले तराई र पहाडमा एकसाथ संगठन बिस्तारमा लागेको भन्दै उहाँले नेकपा र कांग्रेसको बिकल्प राजपा भएको जिकिर समेत गर्नुभयो ।