अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( २०७६ मंसिर १२ बिहिवार) । अर्घाखाँची जिल्लाको नरपानीमा १९ जनाको ज्यान जाने गरी भएको विभत्स बस दुर्घटनापछि अर्घाखाँचीबासी स्तब्ध र शोकमग्न भएका छन्।
मध्यरातसम्म सन्धिखर्क जिल्ला अस्पतालमा सनाखत भएका केही शब बिहीबार मात्र पोस्टमार्टमको काम सुरु गरि मृतकका आफन्तलाई बुझाइने छ। भने बाँकीको सनाखत हुन बाँकी रहेको छ ।
बुधबार दिउँसो दिउँसाे १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) “रातामाटा” कैदिपमा अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १० महिनाको बच्चा सहित १७ जनाको घट्नास्थलमै र २ जनाको पछि उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
यतिबेला विभत्स दुर्घटनापछि सिंगो जिल्ला शोकमा छ । अर्घाखाँची उद्योग बाणिज्य संघ स्रोतले जानकारी गराए अनुसार बिहीवार एक दिन शोकमा सन्धिखर्क तथा चुत्रावेसी लगायतका जिल्लाका बजार बन्द गरिने भएको छ । सरकारी कार्यालय एवम संघ-सस्था, पार्टी कार्यालय बुधवार साँझ देखि सुनसान छन्।
उता बुधवार राती घाइतेको उचित उपचारको लागि राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का ,प्रदेश सभाका सदस्य द्वय चेतनारायण आचार्य ,रामजी प्रसाद घिमिरे ,प्रमुख जिल्ला अधिकारी ,प्रहरी नायब उपरीक्षक ,ससस्त्र प्रहरी नायव उपरीक्षक ,रामवाण गुल्मका गुल्मपति ,जिल्ला अस्पतालका डाक्टरहरु बीच छलफल चलेको थियो । दुर्घटना पश्चात बुटवल र भैरहवा रिर्फर गरेका बिरामीहरुको अवस्था र डाक्टरको रिर्फर अनुसार नेपाली सेनाको प्लेन बाट काठमाडौं लैजानको लागि समन्वय भएको बताईएको छ ।
अर्को विकल्प नखोजी बाटो चौडा र मोडहरु कटिङ
बस सडकबाट ३०० मिटर भन्दा बढी तल खसेको छ। दाहिने मोड काट्ने क्रममा मोड नकटेर, सडक भासिएर बस सडकबाट तल खसेको थियो। गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी – घुम्टीमा मंसिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरु कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सन्चालन हुँदै आएका थिए । अर्को विकल्प नखोजी बाटो चौडा र मोडहरु कटिङ गर्नले बस दुर्घटना भएको स्थानियबासीको आरोप छ । तर दुर्घटनाको कारण एक्कासी जोडले ब्रेक थिच्दा बस अनियन्त्रित भई सडकको डिल भासिएर भिरबाट तल खसेको प्रहरीले अनुमान गरेको छ । यस्तै बस चालक भर्खर सह चालकबाट बस चलाउन थालेको बताईएको छ ।
उता अर्घाखाँचीबासीहरुले नरपानी क्षेत्रमा महिनौ जसो ज्यान गुमाउनु परेको छ । जिल्लामा राजनीतिक दलहरुले अहिलेसम्म केही गर्न सकेका छैनन् । टोप बहादुर रायमाझी पटक- पटक सरकारमा गए तर जिल्लाको अवस्था उस्तै छ । अहिले पनि जिल्लाबाट प्रदेश, केन्द्रमा आधा दर्जन बढी सांसद छन् । उनिहरुले अहिलेसम्म भाषण बाहेक केही गर्न सकेनन् । सांसद चेत नारायण आचार्यले केही दिन अगाडि नरपानीदेखी घुम्तीसम्मको मोड सुधार कार्य शुरु भएकाे बताएका थिए । र बाटो चौडा र मोडहरु कटिङ कार्य शुरु पनि भएता पनि त्यो नाटकमा मात्र भएको यात्रुहरुले बताउन्छन् । साना तिना मोड फलेर ४,५ मिटर फराकिलोले केही हुँदैन । गोरसिङे- सन्धिखर्क सडक कुनै पनि ठाउँमा ठीक नभएको सवारीसाधन धनी, चालक तथा यात्रुको भनाई छ । यि राजनीतिक नेताहरुको संरक्षणमा ठेक्दारले काम नगरि वर्षनी सडक मर्मत, विस्तारको नाममा करौडौको लुट्दै आएको उनिहरुको भनाई । सडक विस्तार, डिलमा फलामे- सिमेन्टका पिलर लगाउनु बाहेक नरपानी – घुम्टी – जगत क्षेत्रमा कम्तीमा १,२ वटा ट्राफिक प्रहरी चौकी चेकजाच राख्नु पर्ने माग भएता पनि अहिलेसम्म सम्बन्धित निकाय मौन छन् ।
दुर्घटनाको कारण नेता
नरपानी बस दुर्घटना लगतै देश – विदेशबाट अर्घाखाँचीबासीले जिल्लाका नेताहरुको व्यापक गाली- गलौज गरेका छन् । नेताहरुले शोक व्यक्त गर्दा झन आक्रोशित छन् । जिल्लामा टोप बहादुर रायमाझी, चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे लगायत जिल्लाका नेताहरुको कारणले दुर्घटनाले निरन्तरता पाएको उनिहरुको भनाई छ । यि नेताहरुले भाषण मात्र गर्ने र दुर्घटनापछि शोक दुख ब्यक्त गर्ने बाहेक केही नगरेको अर्घाखाँचीबासीको आरोप छ ।
हालसम्म सनाखत नामावली बिबरण यस प्रकार छ:-
(१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
(२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
(३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
(४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
(५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
(६) राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
(७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ ( उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
(८) शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची
(९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट
भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु:
(१) कृष्ण बिक वर्ष ४०, अर्घाखाँची
(२) बोम बहादुर वर्ष ३५ अर्घाखाँची
(३) बिष्णु विक वर्ष ३५, अर्घाखाँची
(४) सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची
(५) जीवन विक वर्ष २५, अर्घाखाँची
बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु:
(१) अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची
(२) सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची
(३) बिष्णु अधिकारी, अर्घाखाँची
(४) लोकनाथ पाण्डे, अर्घाखाँची
(५) सपना कुवँर अर्घाखाँची
(६) नन्द बहादुर बिक, अर्घाखाँची
बुधवारको बस दुर्घटना भन्दा अगाडि यो क्षेत्रमा अन्तरगत नरपानीको जगत बहखरमा २०७१ वैशाख १७ गते बुधवार बस र ट्रक दुर्घटनामा १९ जनाको मृत्यु, ४५ जना घाईते भएका थिए । यस्तै २०६९ साउन ७ मा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना हुँदा १७ जनाको मृत्युको मृत्यु भएको थियो । साथै २०६९ श्रावण ८ गते सोमवार नरपानी दहखोलामा फोर्स जिप दुर्घटना, १५ जनाको मृत्यु भएको थियो । नरपानी क्षेत्रमा वर्षनी दर्जनौ यात्रुहरुको सवारीसाधन दुर्घटनामा मृत्यु भएको छ ।
नरपानी क्षेत्रको विगतका वर्ष भित्रको दुर्घटना तथ्याङलाई हेर्दा
अर्घाखाँचीमा गएको ७ वर्ष भित्रको तथ्याङलाई हेर्दा जतिबेला पनि नरपानी क्षेत्रमा नै बढी सवारी दुर्घटना भएको देखिन्छ । साघुरो सडक, गाडीका चालकको लाप्रवाहीका कारण, तीव्र गति, मदिरापानका कारणले हरेक सवारी दुर्घटना भएको प्रहरीको भनाई छ। यहाँ हुने दुर्घट्नालाई लिएर कयौ देश- विदेशमा रहेका अर्घाखाँचीबासीहरुले नरपानी – सन्धिखर्क सडक खण्ड परिवर्तन गर्नुपर्ने, दहखोला, जगतमा ट्राफिक प्रहरी चौकी राखिनु पर्ने जस्ता कुरा उठाएका देखिन्छन । बिगत ७ वर्षमा नरपानीमा भएका दुर्घटनाको तथ्याङ:-
≫ २०६९ साउन ७ : नरपानी गाविस – ५ दहखोलाको चिप्लो मोडमा दुर्घटना, १७ जनाको मृत्यु ।
≫ २०६९ श्रावण ८ सोमवार : नरपानी दहखोलामा फोर्स जिप दुर्घटना, १५ जनाको मृत्यु ।
≫ २०७० सोमबार , २२ पुस : नरपानी-४ फुद्बांग बजार नजिकै यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु, ४२ घाइते ।
≫ २०७० माघ २२, सोमवार : नरपानी गाविस वाड नं. ५ दहखोलामा आज बिहान एम्बुलेन्स दुर्घटना, एम्बुलेन्स चालक सहित तिन जना घाइते ।
≫ २०७०, ३ माघ : अर्घाखाँचीको नरपानी ६ मा माटोको ढिस्कोमा पुरिए, दुई महिलाको मृत्यु ।
≫ २०७० पौष १६ गते सोमबार: ट्याक्टर दुर्घटना नरपानी ५ जगतामा, हरि बहादुर खड्काको मृत्यु ।
≫ २०७१ वैशाख १७, बुधवार: बस र ट्रक दुर्घटना, नरपानि गाविस वार्ड नं. ५ जगत बहखरमा, १९ जनाको मृत्यु, ४५ जना घाईते ।
≫ २०७२ फाल्गुन ३, सोमवार: नरपानी नजिक खाँचीकोटको बाघमारामा कार दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु, तीन जना घाइते
≫ २०७२ फाल्गुन २, आइतवार: नरपानीको घुम्ती – दहखोला नजिक गहतडाँडामा ४ जना घाइते
≫ २०७२ फाल्गुन २२, शनिवार: नरपानीको रातामाटामा (नरपानी र घुम्तीको विचमा), जीप दुर्घटना, एक जनाको मृत्यु, १ घाईते
≫ २०७४ कार्त्तिक ६, सोमवार: जगत (नरपानी मुनी ढाडखोला नजिकै) मा जीप दुर्घटना १ जनाको मृत्यु, ८ जना घाइते
≫ २०७४ फाल्गुन १४, सोमवार: यात्रुवाहक बस र बस एक आपसमा ठक्कर डोटे बेसरीको जंगलमा दुर्घट्ना
≫ २०७६ असौज २० गते लंका यातायातको स्कारर्पियो नरपानी दुर्घटना, ३ जनाको मृत्यु र ६ जना घाईते
≫ २०७६ कार्त्तिक २०, बुधवार: कार नरपानीको दहखोलामा दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते