नरपानी बस दुर्घट्ना: अमृताले छोरीलाई झ्यालबाट फालेर बचाइन्, आफू सिकिस्त अस्पतालमा

चालक ओम थापाकी श्रीमती पूजा छोरीसाथ घटनास्थलमा। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
भगवती पाण्डे सेतोपाटी
सन्धिखर्क, अर्घाखाँची सन्धिखर्क  । शुक्रबार बिहान १० बजे। रातो पछ्यौरीले टाउको बेरेकी पूजा थापा डेढ वर्षको नानी काखमा लिएर नि:शब्द थिइन्। 
उनी शोकको पीडामा थिइन्। केहीबेर बस पल्टिएको भीर हेरिन्। भीरले उनको जीवनसाथी हरेको थियो। नानीसँग भीर हेर्दै उनी एकोहोरो थिइन्।
बसका चालक ओमबहादुर थापामगर उनका श्रीमान् थिए। रुपन्देहीको गैंडाहवा-७ का ३२ वर्षीय थापाको दुर्घटनामा मृत्यु भएको थियो।  
बुधबार दिउँसो साढे १ बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को लु२ख २१४८ नम्बरको बस अपराह्न ४ बजे दुर्घटनामा परेको थियो। 
दुर्घटनामा परी बस चालक रुपन्देही गैंडहवा-७ का ३२ वर्षीय चालक थापा, गाडी धनी अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय सन्तबहादुर बस्नेतसँगै १९ जना यात्रुको ज्यान गएको थियो।
पूजा वसन्तकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीतर्फ दुई छोरा जन्मिएपछि वसन्तले तीन वर्षपहिले पूजासँग बिहे गरेका थिए। डेढ वर्ष पहिले पूजा र वसन्तको छोरी जन्मिएकी थिइन्।
जेठी श्रीमती दुई छोरासहित केही समयदेखि माइतीमा बस्दै आए पनि बेलाबखत आउजाउ हुन्थ्यो।
वसन्त सानैदेखि पैसाको लागि विदेशमा श्रम र पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं भन्ने भावना राख्थे। त्यसैले पनि उनी गाडी चलाउन थाले। ४-५ वर्ष बसमा सहचालकको काम गरेका वसन्तले चार वर्षदेखि भने बस चलाउँदै आएका थिए। यसअघि अर्को बस चलाएका उनले त्यो बस बिक्री भएपछि चार महिनादेखि लु२ख २१४८ नम्बरको बस चलाउन थालेका थिए।
बुवा-आमा र दुई भाइसँगै बस्दै आएका वसन्तको परिवार खुसी नै थियो। तर, त्यो खुसी धेरै वर्ष टिक्न पाएन। बुवा-आमाको जेठो छोरा, दुई भाइको दाजु, दुई श्रीमतीको श्रीमान् र तीन सन्तानको बाबु उनी आफैंले चलाएको बस दुर्घटनामा पर्‍यो।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय गाडी धनी सन्तबहादुर बस्नेतले झण्डै एक दसक खाडीमा श्रम र पसिना बेचे। विदेशी भूमिमा कडा परिश्रम गरे पनि पारिश्रमिक राम्रै पाउँथे। तर, लामो समय खाडीमा श्रम बेच्न उनको मनले मानेन।
परिवारसँगै बसेर स्वदेशमै केही गरौं भन्ने उद्देश्यले दुई वर्ष पहिले उक्त बस किनेका थिए। सन्धिखर्क गोरुसिंगे सडकखण्डको सीतापुरमा उनको घर थियो। श्रीमती आशा बस्नेत दुई छोरा आश्विन र आशिकको हेरचाहसँगै घर-व्यवहार चलाउँथिन्।
सन्तबहादुर आउँदा-जाँदा घरमा पस्थे। लामो समय परिवारदेखि टाढा बसेका उनी नजिकै रहँदा खुसी पनि थिए। आशा बिरामी थिइन्। सन्धिखर्कबाट बस छुट्दा सन्तबहादुरले श्रीमती आशालाई उपचारको लागि सँगै बुटवल जाने भन्दै तयार हुन फोन गरेका थिए।
उपचारको लागि श्रीमानसँगै बुटवल जाने तयारी गरेकी उनले केही समयमै बस दुर्घटनामा परेको खबर सुनिन्। अपराह्न बजे भएको बस दुर्घटनाको खबर आशाले साढे पाँच बजे थाहा पाएकी थिइन्।
यो थाहा पाएपछि उनी श्रीमानको अवस्था बुझ्न घरबाट निस्किइन्। उनी घटनास्थल पुग्दा उनका श्रीमानलाई प्रहरीले उद्धार गरेर बुटवलस्थित चौराह अस्पताल लैजाने तयारी गर्दैथियो थियो।
उनी गम्भीर अवस्थामा भीरबाट उद्धार गरिएका श्रीमानसँगै गाडीमा बसिन्। उपचारको लागि श्रीमानलाई बुटवल पुर्‍याइयो। दुर्भाग्य, अस्पतालमा उपचार सुरू नहुँदै उनका श्रीमानको मृत्यु भयो।
श्रीमानसँगै उनकी देउरानी हाल कपिलवस्तु बाणगंगा-८ चप्परगाउँ बस्ने २७ वर्षकी सीता बस्नेतको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो। सन्तबहादुर र सीताको शुक्रबार कपिलवस्तुको लक्ष्मणघाटमा सँगै दाहसंस्कार गरिएको छ।
साँघुरो र धेरै घुमाउरो मोड भएका कारण गोरुसिंगे-सन्धिखर्क खण्डको यो सडक दुर्घटनाको अत्यन्त जोखिम रहेको मानिन्छ। घटनास्थलनजिकै रहेको नरपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद पन्थीका अनुसार पछिल्लो तीन महिनामा यही ठाउँमा तीन वटा गाडी दुर्घटना भएका छन्। त्यसमा २६ जनाको मृत्यु भइसकेको छ।
नरपानीदेखि घुम्तीसम्मको सडक धेरै मोडसहितको साँघुरो भएकाले गत मंगलबारदेखि चौडा गर्न र मोडहरू कटिङ गर्ने काम सुरू गरिएको थियो। सोही कामको लागि मंगलबारदेखि दस दिन बिहान ७ देखि ११ बजेसम्म र दिउँसो १ देखि ४ बजेसम्म सडकमा सवारीसाधन चलाउन रोक लगाइएको थियो।
साढे १ बजे सन्धिखर्कबाट छुटेको उक्त बस सवा दुई बजेतिर घुम्तीनजिकै मोड कटिङ भइरहेको स्थानमा आइपुगेको थियो। सडकको मोड कटिङ भइरहेका कारण बाटोमा दुई घण्टा रोकिएको बस ४ बजे घुम्तीबाट अगाडि बढेको थियो।
मोड काटिरहँदा यात्रु र सवारीसाधनलाई वारिपारि रोक्न सडकमा खटिएका प्रहरी सहायक निरीक्षक पन्थीले यात्रुले भरिएका र सन्धिखर्कबाट छुटेका बसलाई प्राथमिकता दिँदै अगाडि बढाइरहेका थिए। तर, दुई घण्टा सडकमै रोकिएको उक्त बस छ सय मिटर अगाडि पुग्दैगर्दा दुर्घटनामा परेको थियो।
पन्थी आफैंले अगाडि बढाएको बस दुई मिनेटमै ठूलो आवाजसहित भीरमा झरेको थाहा पाए। घटनास्थलमा तत्काल उनी दुई जना ट्राफिक प्रहरीसहित खटिए।
जिल्लास्थित सुरक्षा निकायको माथिल्लो तहमा खबर पठाए। तर, अत्यन्त अप्ठ्यारो भीर रहेका कारण उद्धारमा समस्या भएको उनी बताउँछन्।
‘बस झरेको देखें,  माथिबाट हेर्दा चिच्याहट सुनिन्थ्यो, कसरी उद्धार गर्ने, कहाँबाट तल झर्ने केही सोच्नै सकिने अवस्था थिएन,’ उनले भने। सडकदेखि १०-१२ मिटर तल तीन वर्षकी बालिका चिच्चाएको आवाज सुनेपछि त्यहीँबाटै उद्धार सुरू गरेको उनले बताए।
सन्धिखर्क नगरपालिका-१ की तीन वर्षकी एन्जिला भट्टराई आमासहित सन्धिखर्कबाट बस चढेकी थिइन्।
बस दुर्घटनामा परेपछि आमा अमृता भट्टराईले काखमा रहेकी छोरीलाई बसको सिसा फोडेर बाहिर फालेकी थिइन्। असई पन्थीका अनुसार एन्जिलाले आमाले आफूलाई बसबाट बाहिर फालेको बताएकी छन्। बससँगै खोल्सामा भेटिएकी अमृताको गम्भीर घाइते अवस्थामा बुटवलमा उपचार भइरहेको छ।
दुर्घटनामा परि बाच्ने बच्चा एन्जिला भट्टराई ,उनकि अामा अमृता पाैडेल भट्टराई गम्भीर घाइते छन् ,उनकाे उपचार बुटवल चाैराहामा हुँदैछ ।
प्रत्यक्षदर्शी प्रहरी सहायक निरीक्षक पन्थी साँघुरो सडकमा गाडीको स्टेरिङले मोड काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँछन्।
घटनास्थलको सडक मुश्किलले १२ फिट मात्र चौडाइको रहेको र एउटा मोडको खोंच पार गरी अर्को मोड घुम्दै गर्दा तत्काल स्टेरिङ नघुमेको कारण बस दुर्घटनामा परेको देखिएको पन्थीले बताए।
घटनास्थल भन्दा ५-७ फिट अगाडि-पछाडि रुखहरू रहे पनि बस पल्टिएको स्थानमा रुख नभएको कारण बस धेरै तल खसेको प्रहरी सहायक निरीक्षक पन्थीले बताए।
गाडी धनी, चालक र १७ जना यात्रु गरी १९ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। जसमध्ये सन्धिखर्ककी एन्जिला भट्टराई र छत्रदेव गाउँपालिका-७ ढिकुराका १९ वर्षीय लोकनाथ पाण्डे सामान्य उपचारपछि घर फर्किएका छन्। १४ जना घाइतेहरुको बुटवल, भैरहवा र काठमाडौंमा उपचार भइरहेको छ।
मृत्यु हुनेहरुमा:
१) शिवलाल भट्टराई,  वर्ष ५६ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
२) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई
४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
५) सिता बस्नेत,  २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु
६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  , ठुला डेभा  ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
७) छवीलाल गैरे, वर्ष ५४  भूमिकास्थान नगरपालिका – १० 
८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष  गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने 
९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका –  ७ खाचिकोट काउले  
११) राज कुमार महत, वर्ष २७  (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी)  गुल्मी धुर्कोट गा.पा.२   पलधारा साबिक ३बन्ज्याङ   
१२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ 
१३) सिता घिमिरे  वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१४)  बिष्णुमाया गैरे   वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१५) मैघनाथ जैसी भण्डारी   वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ 
१७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८
१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी  
१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी 
 घाईते हुने र उनिहरुको अवस्था:-
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला   अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
२) नन्द बहादुर बि.क,   वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६  खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड  नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।
५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका –  ६  गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
१) कृष्ण बि.क. वर्ष ४१,  पाणिनी गाउँपालिका वार्ड नं.७  चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
२) विष्णु बि.क., वर्ष ३५  पाणिनी गाउँपालिका वडा नं.७  दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।
४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला  ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८  अवस्था- सिरियस ।
६) सरस्वती भट्टराई, वर्ष २३  सन्धिखर्क नगरपालिका – ४  दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४  टाउकोमा चोट, अवस्था- मध्यम ।
८) स्पर्ष पोखरेल, ३ वर्ष,  कपिलवस्तु बाणगंगा नगरपालिका  – टाउकोमा चोट, अवस्था- मध्यम ।
९) विमला पोखरेल,  वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका   ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)
बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ
१)  प्रशान्त सुबेदी, बर्ष ३३  दाङ राप्ति गा.पा.९  टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।
अन्य घाईते
१. एन्जल भट्टराई,  वर्ष ३ सन्धिखर्क नगरपालिका – १  टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
२. लोकनाथ पाण्डे, वर्ष १९  छत्रदेव गाउँपालिका वडा नं. ७  हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)

अन्य समाचारहरु