श्याम घिमिरे
मंसिर १९ अर्घाखाँची – घर आँगन, टोल, बस्ती र विद्यालयलाई सरसफाईमा अब्बल राख्न सकेमा मानिसहरु स्वस्थ्य बन्न सक्छन । सरसफाइमा बिशेष ध्यान दिईयो भने रोग लाग्नबाट बचिन्छ । दैनिक खानेकुराहरु फोहोरबाट जोगाउने, ताजा ,सफा, सुरक्षित र सन्तुलित खानेकुराहरु खाने र शारीरीक व्यायमलाई निरन्तरता दिएमा मानिस निरोगी भई बाच्न सक्छ । निरोगी भएमा उसले दैनिक कृयाकलापहरु सहजै रुपमा सन्चालन गर्न सक्छ । फलस्वरुप उसले शारीरीक रुपमा श्रम र मेहेनत गरी आफ्नो परीबारमा हुने दैनिक खर्चलाई समेत व्यवस्थापन गर्छ । यही कुरालाई निरन्तरता दिएका छन ढिकुरा म्यालपोखरा काफ्ले नमुना टोलका समुदायले ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालीका वडानम्वर ९ ढिकुरामा रहेको म्यालपोखरा काफ्ले नमुना टोलको अवस्था हिजो आज निकै परिवर्तन भएको छ । केहि महिना पहिले टोलको जुन अवस्था थियो त्यो अवस्थामा निकै परिवर्तन आएको छ । टोलमा आएको सवैभन्दा महत्वपूर्ण परिवर्तन हो सरसफाई । टोलका प्रत्येक घरका व्यक्ति र टोल सरसफाई समितिका सदस्यहरु दैनिक जसो आफ्नो घर आगन र सडक सम्म निस्कन्छन् अनि घरको डोरो संगै सडकको सरसफाई गर्दछन् । कसैले फोहर गरेको भए त्यसलाई सम्झाईबुझाई गर्छन,सरसफाई अभियानमा सहभागि नहुनेलाई आग्रह गर्छन । सरसफाई अभियानका संयोजक जनक पालुङ्गेका अनुसार टोलका ५६ घरबाट निस्कने फोहरमैलालाई दैनिकरुपमा व्यवस्थापन गरीएको बताउछन् ।

टोलका सवै जसो घर र सार्बजनिक स्थानमा फोहरमैला जम्मा गर्न डस्वीन पनि वितरण गरिएको समितिका अर्का सदस्य एवं देउराली आधारभुत बिद्यालयका प्रअ डासीराम दर्लामीको भनाई छ । उनका अनुसार मल बनाएर आफ्नो करेसाबारीमा प्रयोग गर्न चाहनेले डस्वीनमा राखेर मल बनाउँछन् भने कसैले नगल्ने खालको फोहरलाई घर नजिकै व्यवस्थीत रुपमा निर्माण गरीएको फोहोर मलाई लेखीएको ठाँउमा आगो लगाई जलाउउने गर्दछन । केही बर्ष देखि गल्ने र नगल्ने फोहर छुट्याएर विसर्जन गर्न थालिएको दर्लामिले बताए ।
घरआँगनको अलवा सो टोलमा रहेका सार्बजनिक प्रतिक्षालय,मोठमन्दीर,बिद्यालय लगायतका सार्बजनिक ठाउँपनि चिटिक्क परेको देख्न सकिन्छ । सार्बजनिक स्थानमा जम्मा भएको फोहरमैला व्यवस्थापनका लागि टोल विकास समितिमा आवद्ध रहेका सदस्यहरुको सहभागीता जनाउनुपर्ने व्यवस्था समेत गरिएको पालुङ्गेको भनाई रहेको छ ।
त्यसोत सरसफाई अभियानको निरन्तरता संगै पालुङ्गेले घर नजिकै बंगुररपालन, माछापालन लगायतको व्यवसायलाई निरन्तरता दिई राखेका छन । उनले घरखर्चको लागी बिभिन्न किसीमका तरकारी,फलफुल उत्पादन गर्नुको साथै टर्की पालन पनि गरेका छन । यि सबै बिक्रीबितरण गर्दा बार्षिकरुपमा करीब २ लाख ५० हजार भन्दा बढी आम्दानी गरेको बताए ।
टोलमा प्रकाश सचेतन समुह (प्राग) अर्घाखाँची र यु.एन.हेबिट्याडको सहजिकरण र प्राबिधिक सहयोगको कारण आफुरहरुमा अझ बढी परीबर्तन आएको स्थानियले बताए । गाउँलाई आगमी दिनमापनि सरसफाइमा नमुनानै बनाइराख्ने स्थानिय सरसफाई टोल बिकासका सदस्यहरुको भनाई रहेको छ ।
नमुना टोलको नमुना काम संगै प्राग र यु.एन.हेबिट्याडले जिल्लाका ३१ वटा बिद्यालयहरुमा मेरो विद्यालय सहयोग कार्यक्रम पनि सन्चालन गरेका छन । विद्यार्थीलाई सरसफाई सम्बन्धी शिक्षा सिकाउ यस्तो कार्यक्रम सन्चालन गरेको यु.एन.हेबिट्याडका जिल्ला संयोजक शिबराज न्यौपानेले बताए । उनले विद्यार्थीले सिकेको शिक्षा घरमा अभिभावक र समाजमा लागु गर्न सहजहुने भन्दे यसले सकारात्म सन्देश दिने बताए । विद्यार्थी भविष्यका कर्णधार हुन, कक्षाकोठामै सिकाइयो भने भोली देशको उच्च तहमा पुग्दा विद्यार्थीमा सिकेका कुरा देश र समाज निर्माणको लागि महत्वपूर्ण योगदान हुने न्यौपानेको तर्क रहेको छ ।

सरसफाई सम्बन्धी जिल्लामा बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको प्रकाश सचेतन समुहका निर्देशक प्रेमनारायण गैरेले सरसफाई गुरु योजना अन्तरगत कार्यक्रम सञ्चालिन भैरहेको र मुलुकभर अर्घाखाँची सरसफाइमा नमूना जिल्ला बन्दै गरेको बताए । विद्यालयमा चर्पी हुनुपर्छ । त्यो सफा चाहिन्छ । स्कुल प्राङ्गण भित्र सफा सुग्गर, कतै कागज, प्लाष्टिक हुनु हुदैन । विद्यार्थीले लगाउने ड्रेस सफा हुनुपर्छ । हातखुट्टकाक नंङ काटेको हुनुपर्छ । सफा र शुद्ध खानेपानीको धारा चाहिन्छ । शौचालय बालमैत्री हुनुपर्ने उनले बताए । दुषित पानी मुक्त विद्यालय घोषणा गर्न सरकारले ध्यान दिनुपर्छ । विद्यालय र विद्यार्थीले गरेको काम अभिभावक सम्म पुगेपछि मात्र समाज सुन्दर बन्ने गैरेले बताए ।



मेरो विद्यालय सहयोग कार्यक्रम सन्चालन भैरहेको बिद्यालय भगवति माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले स्कुल क्षेत्रलाई सरसफाई नमूना क्षेत्र बनाउन व्यवस्थापन समिति, अभिभावक, शिक्षक,शिक्षिका र विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताए । सबैले आफ्नो ठाँउमा भूमिका निर्वाह गरेमा कतै पनि दुर्गन्धीत नहुने खनालको तर्क छ । विद्यालय भित्र जंगफुट समेत खान प्रतिबन्ध लगाइएको उनले बताए ।