अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ९ सिद्धाराको पाँकुरी आधारभूत विद्यालयले दुई शिक्षकहरुलाई विदाई गरेको छ ।
विद्यालयमा एक औपचारिक विदाई समारोहको आयोजना गरि शिक्षकहरुलाई विदाई गरिएको हो । विदाई समारोहमा पाँकुरी आधारभूत विद्यालयका अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष खुम बहादुर लुइचे र शितगंगा ९ का वडा अध्यक्ष एवम प्रमुख अतिथी भिम बहादुर केसिले शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा विद्यालयका विद्यार्थी एवम अभिभावकहरुले भावविह्वल हुँदै टीका र फुलमालाले विदाई गरेका थिए ।छोटो समयमा पनि प्रधानाध्यापकको जिम्मेवारी लिई विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक क्षेत्रमा नमुना कार्य गरि जिल्लामै प्रेरणादायी बन्न सफल विद्यालयका निवर्तमान प्रधानाध्यापक एवम समाजिक अभियानकर्मी गणेश बेल्बासे र शिक्षक तिलक राम बन्जाडेले आफ्नो विदाई मन्तव्य राख्दै विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
निवर्तमान प्रअ गणेश बेल्बासे २०७३ जेठ १७ गते प्रावी अस्थायी करार शिक्षकका रुपमा नियुक्त भई २०७४ भदौ २७ गत देखि प्रअ को जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो भने शिक्षक तिलक राम बन्जाडेले २०७५ असार १० गते देखि शिक्षक एवम सहायक प्रअ को जिम्मेवारी सम्हाल्नुभएको थियो ।विदाई समारोहमा स्वागत मन्तव्य शिक्षक अर्जुन थारुले राख्नुभएको थियो भने कार्यक्रमको संचालन विद्यालयका नवनियुक्त प्रअ राम वृक्ष चौधरीले गर्नुभएको विद्यालयले जनाएको छ ।