छत्रदेव गाउँपालिकामा गुणस्तरीय सेवाको लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रेम नारायण आचार्य
छत्रदेव, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट कार्यन्वयन गरिने योजनाका सम्बन्धमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले उपभोक्ताहरुले योजनाको काम तथा रकम भुक्तानी विना झन्झट, छिटो र छरितो होस भनेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । पालिका भित्र हुने विकास योजनाका बारेमा उपभोक्ताहरु सचेत होउन भनेर कार्यक्रम सञ्चालन गरिएको उहाको भनाइ छ ।काम सम्पन्न गरेर रकम भुक्तानी गर्दा र विकासका योजना सञ्चालन गर्दा छत्रदेववासीलाइ छिटो छरितो सेवा प्रवाह गर्न आफुहरु लागिपरेको गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जनता सेवा खोज्दै हैन सेवा जनता खोज्दै जानु पर्छ भन्ने मान्यता छत्रदेव गाउँपालिकाको सिद्धान्त रहेको बताउनु भएको छ । वडा वडामा गएर योजना सम्झौता तथा बैंक खाता खोल्दिएको पालिकाले अब योजना सञ्चालन गर्दा गर्नु पर्ने कार्यको बारेमा जानकारी दिएको उहाको भनाइ छ ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, उपभोक्ता समितिका अध्यक्ष, पदाधीकारी , वडा सविचहरुको सहभागिता रहेको थियो । कार्यक्रम लेखा अधिकृत सन्तोष गैरेको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु