शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल राहत शिक्षक अर्घाखाँचीकाे चाैथाे जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो औल्याउनु भएको छ । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि समय सापेक्ष रुपमा शिक्षामा परिवर्तन हुन नसक्दा समस्या बल्झिएको बताउनुभयो ।

नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको चौथो जिल्ला अधिबेशनको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले शिक्षा क्षेत्रमा थुप्रै समस्याहरु रहेको भन्दै शैक्षिक बिकृति र विसंगतिको अन्त्यको निम्ति नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनु भयो । नेपाली जनताको ठुलो त्याग र बलिदानका कारण मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणको अभावमा जनताले परिवर्तनको अनुभुती गर्न नसकेको बताउनुभयो । बिकास र समृद्धिको यात्रामा मुलुक अगाडि बढेको भन्दै उहाँले समृद्धिको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रलाई समय अनुकुल बनाउनु पर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहनु भएका नेता खड्काले शिक्षा क्षेत्र लाई शैक्षिक माफियाहरुले घेराबन्दीमा पारेको बताउँदै माफियाको षड्यन्त्र चिरेर अगाडि बढ्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकहरूको मनोबल माथि नउठाए सम्म शैक्षिक गुणस्तर कायम हुन नसक्ने भन्दै शिक्षकमा भएको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । नेता खड्काले मुलुकमा रहेका ४० हजार राहत शिक्षकको व्यवस्थापनमा तत्काल ध्यानदिन राज्यको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिका सहअध्यक्ष नवीन सिंह धामीले राज्यको गलत नितिका कारण राहत शिक्षकलाई बलिको बोका बनाईएको आरोप लगाउँदै तत्काल आफ्ना माग संभोदन नगरिए आन्दोलन मार्फत माग पूरा गरेरै छाड्ने बताउनु भयो । पेशागत संग संगठनका नेताहरूको निकम्मा पनका कारण राहत शिक्षक अन्यायमा परेको उहाँको भनाई थियो ।
नेपाल राहत शिक्षक के न्द्रीय समितिका अर्का सहअध्यक्ष बिरेन्द्र मल्लले शिक्षा क्षेत्र लाई राज्यले उपेक्षा गरेको आरोप लगाउनु भयो । उहाँले अस्थायी शिक्षकको प्रकृया अपनाएर राहत शिक्षकको व्यवस्थापन नगरिए आन्दोलनको ज्वारभाटा उठाउने चेतावनी दिनुभयो ।
नेपाल राहत शिक्षक जिल्ला समितिका अध्यक्ष शिव कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रीय समितिका सचिव रोमनाथ यौपाने,प्रदेश उपाध्यक्ष बोमबहादुर कुँवर ,शिक्षा समन्वय ईकाईका प्रमुख मनिराम पराजुली ,शिक्षक युनियनका जिल्ला अध्यक्ष यादब प्रसाद घिमिरे ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष युबराज भुसाल ,नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव पानबहादुर खत्री , शिक्षक नेता बलाराम रायमाझी ,पत्रकार महसंघका प्रदेश सदस्य शोभाखर पन्थी ,अर्घा रजस्थल माध्यमिक बिद्यालयका प्रधानाध्यापक छवि चुँदाली , राहत शिक्षक प्रदेश समितिका सदस्य शारदा श्रेष्ठ ,प्युठानका अध्यक्ष हरि प्रसाद ज्ञवाली ,लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।




