शोभाखर पन्थी
अर्घाखाँची / माघ २१ । अर्घाखाँचीका सरकारी बिद्यालयले शैक्षिक सुधारमा जोड दिएका छन् । बिद्यार्थी संख्या घट्दै गएपछि यहाँका बिद्यालय शैक्षिक सुधार र गुणस्तरको निम्ति जुटेका हुन् । केही समय यता बिद्यालयले अतिरिक्त समयमा पठनपाठन गर्नुका साथै अंग्रेजी माध्यम बाट समेत पढाउन थालेका छन् ।
अंग्रेजी भाषाका कारण बोर्डिङ स्कुलमा बिद्यार्थीको चाँप बढ्नुका साथै सरकारी बिद्यालयमा बिद्यार्थी संख्यामा कमि आए पछि बिद्यालयले बिद्यार्थी आकर्षणको निम्ति नयाँ नयाँ रणनीति अगाडि ल्याएका हुन् । शैक्षिक गुणस्तरका कारण जिल्लामा नाम कमाएका र खचाखच बिद्यार्थी हुने सरकारी बिद्यालयमा समेत अहिले बिद्यार्थी संख्या ह्वात्तै घटेको छ। बिद्यार्थी संख्या घटे सँगै विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले आफ्नो साख घटेको महसुस गरेका छन् । उनिहरुले बोर्डिङ स्कुल भन्दा सरकारी बिद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनी नयाँ नयाँ योजनाका साथ कामगर्न थालेका छन् । र्बोर्डिङ स्कुलमा बिद्यार्थीको चाँप बढे पनि अंग्रेजी भाषाको शिक्षण बाहेक चर्को शुल्क ,पाठ्य पुस्तकको भारी, अनावश्यक तडकभडक,घोकन्ति बिद्यालाई प्रोत्साहन ,परीक्षा केन्द्रीत शिक्षण विधिका कारण अभिभावकहरु त्यति सन्तुष्ट छैनन् ।
बिद्यालय तहसम्म राम्रो नतिजा ल्याए पनि उच्च शिक्षा र लोकसेवा आयोगको परिक्षामा बोर्डिङको तुलनामा सरकारी बिद्यालयका बिद्यार्थी नै अब्बल देखिएका छन् । सरकारी बिद्यालयका बिद्यार्थीले उच्च शिक्षामा राम्रो प्रगति हासिल गरे पनि तल्ला कक्षाको नतिजा कमजोर हुनु र अंग्रेजी माध्यम बाट पढाई नहुँदा आफुहरुले बाध्यताबस ऋणधन गरेर बोर्डिङ स्कुलमा पढाउनु परेको अभिभावकहरुको गुनासो छ ।उनिहरुले सरकारी बिद्यालयमा आमुल सुधार गर्नुपर्ने बताउँदै आएका छन् । अभिभावकको चाहना अनुसार अहिले अर्घाखाँचीका २ दर्जन बढी बिद्यालयले अंग्रेजी भाषामा पठन पाठन गर्न थालेका छन् ।सरकारी बिद्यालयले अंग्रेजी भाषामा पढाउन थालेपछि बिद्यार्थी संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
यसैबीच भगवती माध्यमिक बिद्यालय शंखेटारीले अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन गर्ने भएको छ । अंग्रेजी भाषाप्रती बिद्यार्थी र अभिभावकको चासो बढे सँगै अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन सुरु गर्न लागेको बिद्यालयले जनाएको छ । यसबर्ष पुर्व प्राथमिक तह र कक्षा १ मा अंग्रेजी भाषाको माध्यम बाट शिक्षण गरिने र आगामी बर्ष क्रमशः बिस्तार गर्दै लैजाने बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसालले बताउनुभयो । उहाँले आधुनिक प्रविको माध्यम बाट सुबिधा सम्पन्न कक्षा कोठामा दक्ष शिक्षक बाट शिक्षण गरिने बताउनु भयो । अंग्रेजी भाषा शिक्षणको एक समारोहका बीच सन्धिखर्क नगरपालिका वडा नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा मन्तव्य राख्दै उहाँले परिवर्तित समय र परिस्थिति अनुसार बिद्यालय र शिक्षकले आफु लाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सरकाले शिक्षा क्षेत्रमा लगानी गरे अनुसार प्रतिफल आउन नसकेको भन्दै उहाँले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनु भयो । अध्यक्ष रायमाझीले शैक्षिक गुणस्तर वृद्धि लाई मुलमन्त्र बनाएर अगिबढ्न शिक्षकहरु लाई आग्रह गर्दै सहयोगका लागि आफु हरबखत तयार रहेको बताउनुभयो ।
भगवती माध्यमिक बिद्यालयमा पुर्व प्राथमिक तह देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । करीब ७ सय बिद्यार्थीले पढ्दै आएको यस बिद्यालयले यस बर्ष पुर्व प्राथमिक तह र कक्षा एक तथा आगामि बर्ष कक्षा २ हुँदै कक्षा १२ सम्म अंग्रेजी माध्यम बाट पठपाठन गर्ने तयारी गरेको बिद्यालयका शिक्षक धुर्व के.सी.ले बताउनुभयो ।