ठेकेदार जनप्रतिनिधिहरू दाँयाबाट क्रमश: बाल कृष्ण आचार्य, नारायण प्रसाद खनाल, राजकुमार श्रेष्ठ र गुणखर अधिकारी । तस्बिर: फेसबूकबाट
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ठेकेदार जनप्रतिनिधिहरूले स्थानीय सरकारको आडमा आफ्नो ठेक्कापट्टा चम्काएका छन् ।
ठेक्कापट्टा चम्काउनेमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित मालारानी गाउँपालिकाका बाल कृष्ण आचार्य, भूमिकास्थान नगरपालिका वार्ड नं ८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ, वार्ड नं ९ का वडाअध्यक्ष नारायण प्रसाद खनाल र पाणिनी गाउँपालिका वार्ड नं ७ का गुणखर अधिकारी रहेका छन् ।
ठेकेदार जनप्रतिनिधिहरूमा आचार्यको महेश निर्माण सेवा, श्रेष्ठको जया विजय कन्स्ट्रक्सन, खनालको लक्ष्मी कन्स्ट्रक्सन र गुणखरको अधिकारी निर्माण सेवा रहेका छन् । उनिहरु सबै नेकपाका जनप्रतिनिधिहरू हुन् ।
यि सबै नेकपाका जनप्रतिनिधिहरूका कम्पनीमा डोजर, जेसीबी-एक्साभेटर, टिपरलगायतका सबै सामान छन् । स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि बनेपछि पनि यिनिहरुको ठेक्कापट्टा व्यवसाय वर्षभरी निर्वाध चलिरहेको छ । उनीहरूकै ‘सेटिङ’ मा स्थानीय तहका योजना कार्यान्वयनमा हुन्छन् ।” जनप्रतिनिधि बनेपछिको दायित्व र व्यस्तताले व्यवसायमा उनको सक्रियता कम हुनुपर्ने हो । तर उल्टो भएको छ पालिकाभित्रका अधिकांश विकास निर्माणका काम उनकै कम्पनीले पाईरहेका छन् ।
उता तत्कालिन नेकपा एमालेबाट निर्वाचित सन्धिखर्क नगरपालिका वार्ड नं १२ का वडासदस्य नारायण बस्याल नितान्त बजाज सवरुमका संचालक हुन् । उनका भाई निराजन बस्यालको घोचु कन्स्ट्रक्सन हो ।
अर्घाखाँचीका खोलानालादेखि बाटो विकास निर्माणका ठेक्कापट्टामा पहिलेदेखि नै यिनी ठेकेदार जनप्रतिनिधिको दबदबा थियो, अहिले आफैं जनप्रतिनिधि बनेपछि त झ्नै सजिलो भएको छ । यि सबै जनप्रतिनिधिको कमाइको स्रोत पनि ठेक्कापट्टा नै हो । निर्माण व्यवसायीकै आडमा उनिहरु जनप्रतिनिधि बनेका हुन्, सन्धिखर्कका व्यवसाय बिष्णु भुसालले भने ।
संघीय संरचनाअन्तर्गत पहिलो पटक बनेका स्थानीय तह यसअघिका स्थानीय निकाय जस्ता नभई वास्तविक अर्थमा ‘स्थानीय सरकार’ हुन् । स्थानीय तहलाई संविधानले नै विधायिकी, कार्यकारी र केही हदसम्म न्यायिक अधिकार समेत सुनिश्चित गरेको छ । त्यसैले पनि स्थानीय तहलाई नागरिकको ‘घरदैलोको सरकार’ भनिएको हो । पहिलो पटक शक्तिशाली स्थानीय सरकारहरू चलायमान हुँदै गर्दा तिनलाई हाँक्न चुनिएका यि जनप्रतिनिधि कस्ता छन् र के गर्दैछन् भन्ने बुझउने दृष्टान्त हुन्, यी । विडम्बना, अर्घाखाँचीका यि जनप्रतिनिधिहरू ठेकेदारसहितको हैसियतमै काम गरिरहेका छन् । यस्ता दृश्यले स्थानीय सरकार कुबाटोमा हिंड्न थालेको संकेत गर्छ ।
अर्घाखाँचीका स्थानीय तहमा आर्थिक कारोबारलाई लिएर यि ठेकेदार जनप्रतिनिधि र कर्मचारीबीच बेला – बेला विवाद भएको देखिन्छ । कारण जबर्जस्ती रकम निकासा नै हो । आचार्यले गाउँपालिकामा, श्रेष्ठ, खनाल र गुणखरले वार्डमा अरुले गरेको ठेक्कापट्टाको कामको रकम निकासा रोक्दै आएका छन् ।
मालारानी गाउँपालिकाका बाल कृष्ण आचार्य आफू नदेखिने गरी नाफामुखी काममा लागेका छन्, खनका एक शिक्षकले नाम नबताउने सर्तमा बताए । अर्घाखाँचीमा अन्य पालिका प्रमुखले ठेक्कापट्टा आफैंले नलिई निकटका व्यवसायीलाई दिंदै आएका गुनासो पहिले देखि नै नआएको होइेन । यिनिहरुले ठेक्का पाएका अधिकांश योजना अलपत्र पनि परेका छन् ।
उता आफैं डोजर भाडामा लिएर स्थानीय तहका काम जिम्मा लिने वा डोजर भाडामा लगाएर पैसा कमाउने– अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरूको ‘व्यवसाय’ नै बनेको छ । जिल्लाको शितगंगा नगरपालिकाका उपप्रमुखमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित टीका रेश्मी मगरले बेला – बेलामा आफूले डोजर भाडामा लिई नगरपालिकाभित्रको सडक निर्माणमा लगाउदै आएका देखिन्छन् । शितगंगा नगरपालिका १० का वडाध्यक्ष हिम्मत पौडेल, ५ का कमल पौडेल, १२ का बाबुराम गैरे र ९ का भीम केसीले आफैं डोजर किनेर नगरपालिकालाई बेला – बेलामा भाडामा लगाउदै आएका देखिन्छन् । यस्तै वार्ड नम्बर ३ का अध्यक्ष हेमनाथ भुसालले पनि डोजर भाडामा लिएर बेला – बेला चलाउदै आएका छन् ।
विकास बजेटको ठूलो रकम सडक निर्माणमा विनियोजन गर्ने र त्यसपछि काम आफैंले गरेर रकम कुम्ल्याउने ध्याउन्नमा जनप्रतिनिधि नै लागेका छन् । गएको वर्ष शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु.६३ करोड १५ लाख ९४ हजार बजेट छुट्याएको थियो । त्यसमध्ये रु.१४ करोड २५ लाख प्रशासनिक खर्च हो भने बाँकी विकास खर्च । नगरपालिकाले आन्तरिकतर्फ रु.२ करोड ४६ लाख उठाउने लक्ष्य राखेको थियो, बाँकी ६१ करोड सरकारी अनुदान थियो । रमाइलो के छ भने अनुदानतर्फको बजेटबाट नगरस्तरीय ठूला सडक आयोजनाका नाममा रु.५ करोड र साना सडक निर्माणका लागि रु.४ करोड छुट्याइएको थियो । त्यस्तै आन्तरिकतर्फको रु.२ करोड ४६ लाखमध्ये रु.५१ लाख ७६ हजार पनि सडक निर्माणमा छुट्याइएको थियो । नगरपालिकाले सडक निर्माणमा छुट्याएको बजेट मात्र करीब रु.१० करोड थियो ।
यस्तै छत्रदेव गाउँपालिका १ का वडाध्यक्ष प्रकाश पन्थी, २ का वडाध्यक्ष राजेश पन्थी र ३ का वडाध्यक्ष कमल पौडेलले डोजर किनेर गाउँपालिकाबाट सडक निर्माणको जिम्मा लिदै आएका देखिन्छन् । जिल्लाकै सन्धिखर्क नगरपालिका १ का वडाध्यक्ष युवराज बञ्जाडेले प्रतीक्षा निर्माण सेवाका नामबाट नगरपालिकाको कृषि भवन निर्माणको ठेक्का लिएका थिए । वार्ड ८ का अध्यक्ष ईश्वरी पौडेलले बेला – बेलामा डोजर भाडामा लिएर आफैं सञ्चालन गर्दै आएको देखिन्छ । भूमिकास्थान नगरपालिकाको मेयर बनेका रेशम थापाले भाइ प्रेम थापालाई अगाडि सारेका छन् । वार्ड ९ का अध्यक्ष नारायण खनालले पनि युवराज श्रेष्ठ र मणि पौडेलसँगको साझेदारीमा डोजर सञ्चालन गर्दै आएका छन् भने वार्ड १० का अध्यक्ष खगेश्वर पन्थीले पनि बेला – बेलामा डोजर भाडामा लिएका देखिन्छन् ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्नो संवैधानिक हैसियतलाई ठेक्कापट्टा चम्काउने साधन बनाउँदा ठूलो भरोसा गरिएको शत्तिशाली स्थानीय सरकार ‘पंगु र भ्रष्ट’ बन्ने जोखिम बढेको देखिन्छ ।