लक्ष्मण घिमिरे
डेभा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–९, डेभाका बसन्त दर्लामी असाक्षर छन् । पैसा बाहेक अन्य अंक र अक्षर उनले चिन्दैनन् । सरसफाई के हो र यसले जिवनमा कस्तो महत्व राख्छ भन्ने पनी केहीदिन अँघीसम्म उनलाई थाहा थिएन ।
अहिले उनको घर चिटिक्क सजिएको छ । फोहोर फाल्न स्थानिय साधन स्रोतको प्रयोग गरी माटोको फोहोर मलाई बनाएका छन् । शौचालय र भाँडा माज्ने ठाँउ पनी सफा र व्यवस्थित छन् । माछा पोखरी निर्माण गरी त्यसको वरिपरी हरियो सागपात र तरकारीहरुले घर वरिपरी हरियाली छाएको छ ।
गोठ पनी व्यवस्थित छ । घरको तलपट्टी बंगुर पालन पनी गरेका छन् । बंगुरको खोर पनी सफा छ । दुर्घन्ध रहित वातावरणमा टर्की पालन पनी गरेका छन् । घरको वरिपरी केरा र सुन्तलाका बोट भरिभराउ छन् । चौतर्फी हरियाली र स्वच्छ वातावरण देख्दा जस्को पनी मन लोभ्याउँछ ।
मालारानी गाँउपालिका वडा नम्बर–३ सावडाँडाकी मायाँ खनाललाई पनी नुहाउने र सफा कपडा लगाए सफाई हुन्छ भन्ने थियो । स्कुल नै नगएकी पौडेलले प्रौढशिक्षा मार्फत अलीअली अक्षर चिन्न थालिन् । तर सरसफाईका बारेमा उनलाई त्यती थाहा थिएन । ‘सफा कपडा लगाए र नुहाउने गरेपछी सफा भइन्छ भन्ने थियो, उनले भनिन, ’ सर मेडम आउनु भयो धेरै कुरा सिकाउनु भयो, सरसफाई गर्ने थुप्रै कुराहरु रहेछन ।’ स्वास्थ्यमा पनी सरसफाईको ठुलो भुमिका हुँदो रहेछ भन्दै उनले बुढेसकालमा आएर बल्ल धेरै सिक्ने मौका पाएको बताईन् ।
उनले घरमा भाँडा माज्ने र सुकाउने ठाँउ बनाएकी छिन् । भाँडा पखालेको पानी संकलन गरेर आफैले निर्माण गरेको करेसा बारीको खेतीपातीमा राख्ने गरेकी छिन् । घर वरिपरी र भित्र बाट निस्कने फोहोर फाल्न ढुङ्गा र माटोले बनाईएको ‘फोहोर मलाई’ बनाएकी छिन् । घर वरिपरी र भित्र सरसफाई गरी चिटिक्क बनाएकी छिन् ।
स्थानिय सामाग्री प्रयोग गरेर बानाईएको ‘फोहोर मलाई’
जिल्लालाई पुर्ण सरसफाईमा नमुना जिल्ला घोषणा गर्ने उद्देश्य सहित यससंग सम्बन्धित संघसंस्था जिल्लाका सबै स्थानिय तहमा क्रियाशिल भएपछी सरसफाईमा परिवर्तन देखिन थालेको छ ।
घरहरु मात्र नभई सरसफाई अभियान चलेको क्षेत्रमा बाटोघाटो, चौतारी, विद्यालय र सार्वजनिक स्थलहरु पनी सफा सुग्घर देखिन्छन् । पसल वरिपरी चाउचाउ, बिस्कुट, मिठाई, धुम्रपानका खोलहरु फाल्न डस्टबिन राखिएको छ ।
चौतारो र सरसफाई घरको मात्र नभई सार्वजनिक स्थलको पनी उत्तीकै आवश्यक रहेको भुमिकास्थान नगर प्रमुख रेशम थापाले बताए । ‘सरसफाई मुख्य कुरा हो । सरसफाईले समुदायलाई प्रतिनिधित्व गर्छ, उनले भने,‘मैले पनी आजभोली दिनभरीको फोहोर गोजीमा जम्मा गरेर निश्चित ठाँउमा फाल्ने गरेको छु ।’ फोहोरले समाजलाई असभ्य देखाउने भएकाले व्यक्तीगत र सामाजिक सरसफाई महत्वपुर्ण रहेको उनको भनाई छ ।
२०७१ मंसिर १३ गते देशभरमा १७ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा भएसंगै २०७१ फाल्गुनमा सम्पन्न जिल्ला परिषद्बाट पारित सरसफाई रणनितिक योजना अनुसार अहिले जिल्लालाई पुर्ण सरसफाई युक्त जिल्ला बनाउने अभियानमा यहाँका संघसंस्था जुटेका छन् । सरसफाई के हो ? सरसफाईका सुचकहरु केके हुन ? सरसफाईले जिवनमा केके परिवर्तनहरु आउँछन् ? सरसफाई केका लागी भन्ने कुरा सिकाउँदै गाँउगाँउमा अभियान मार्फत सुसुचित गराउन थालिएको छ । सन् २०२० भित्र अर्घाखाँची जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला निर्माण गर्ने लक्ष्य अनुसार सरसफाई अभियानलाई तिव्रता दिइएको छ ।
सरसफाई प्रति सर्वसाधारणको दृष्टी फराकिलो भएको सरसफाईका क्षेत्रमा क्रियाशिल प्रकाश सचेतन समुह प्रागका कार्यकारी निर्देशक प्रेम नारायण गैरेले बताए । सन् २०२० भित्र जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला बनाउने अभियानमा आफुहरु तिव्रताका साथ लगिरहेको उनको भनाई छ । ‘खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सहजिकरण ग¥यौं । यो अभियानमा पनी लागेका छौं, उनले भने,‘घोषणा गर्न थप समय लागेपनी गुणस्तर र प्रभावकारीतामा विशेष ध्यान दिन्छौं ।’ यो अभियानमा सन्चारमाध्यमको पनी महत्वपुर्ण भुमिका हुने उनले बताए ।
विद्यालयमा राखिएका सरसफाईका सुचकहरु
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको नेतृत्वमा प्रकाश सचेतन समुह प्राग, ग्लोबल सेनिटेशन फन्ड युएनहेबिट्याट लगायतका संघसंस्था ६ वटै स्थानिय तहमा क्रियाशिल छन् । करिब २ दर्जन सहजकर्ता मार्फत गाँउटोल र विद्यालयमा सरसफाई सचेतना सम्बन्धि विभिन्न कार्यक्रमहरु गरिंदै आएको छ । अभियानमा वडा र पालिकाहरुले पनी साथ दिईरहेका छन् । पालिका र नगरले वास योजना तथा वडा र समुदायले कार्ययोजना बनाएर अँघी बढेका छन् ।
विभिन्न समुदाय र वडाहरुले आआफ्नो क्षेत्रलाई सरसफाई युक्त क्षेत्र स्वघोषणा गरेका छन् । तर औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।