आजदेखि गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक ९ घन्टा बन्द


लक्ष्मण घिमिरे
सन्धिखर्क,  अर्घाखाँची । अर्घाखाँचीलाई पुर्वपश्चिम राजमार्गसंग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड दैनिक ९ घन्टा बन्द गरेर स्तरोन्नती गरिने भएको छ । फागुन २१ गतेदेखी सन्धिखर्कको घुम्तीदेखी भुवनपाटा सम्मको ८ किमी सडक दैनिक नौ घन्टा बन्द हुने भएको हो ।
साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नती गर्न लागिएको सडक बिहान ७ बजेदेखी मध्यान्न १२ बजेसम्म र दिउँसो २ बजेदेखी बेलुका ६ बजेसम्म बन्द गरिने सडक डिभिजन कार्यालय शिवपुरले जानकारी दिएको छ । वैकल्पिक मार्गका रुपमा सन्धिखर्क–सालझन्डी सडक, घुम्ती–तानसेन सडक र धनचौर–अमराई सडकको प्रयोग गर्न सकिने पनी आयोजनाले जनाएको छ ।
महेन्द्र राजमार्गको गोरुसिङ्गे चोकदेखी ६८ किलोमिटर लम्बाई रहेको यो सडकको ११ किलोमिटर कपिलवस्तु जिल्लामा पर्दछ । अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको पत्थरकोटदेखी ५७ किलोमिटर पहाडी यात्रा पछी सदरमुकाम सन्धिखर्क पुगिन्छ । २०३७ सालमा कच्चीबाटो सन्चालनमा आएको यो सडकखण्ड क्रमशः सडक विभाग तौलिहवा शाखा, गोरुसिङ्गे–सन्धिखर्क सडक योजना ठाडा, गोरुसिङ्गे–सन्धिखर्क सडक योजना कार्यालय गोरुसिङ्गे, पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. ५ शिवपुर हुँदै हाल सडक डिभिजन, शिवपुर कपिलवस्तुको मातहतमा रहेको छ ।
विश्व बैंकको सहयोगमा झन्डै पन्ध्र वर्ष अँगाडी यो सडकमा पाईलट योजनाका रुपमा वोटासिल (कालोपत्रे) गरिएको भएपनी यातायातको चापलाई मध्यनजर गरी मोड सुधार र सडक चौडा गर्ने कार्य अँगाडी बढेको छ । गोरुसिङ्गे चोकदेखी साढे ६ किलोमिटर चौडा गरिसकिएको यो सडकखण्डको पत्थरकोटदेखी पिडापानी सम्मको सडक स्तरोन्नती भैसकेको सडक डिभिजन, शिवपुरका ईन्जिनियर नेत्र प्रसाद देवकोटाले जानकारी दिए । पत्थरकोटदेखी ठाडा बजारसम्मको करिब २५ किलोमिटर सडकमा रहेका अफ्ठ्यारा घुम्तीहरु फराक भइसकेको पनी उनले बताए ।
सुपादेउराली मन्दिरमा आउने भक्तजनको चापलाई मध्यनजर गर्दै सडक व्यवस्थित गर्न केही समय अँघी मन्दिर अँगाडीको सडक चौडा गरिनुका साथै करिब दस किलोमिटर बाटो रिसिलिङ्ग गरिसकिएको छ । पहिले अफ्ठ्यारो बाटोका कारण अत्याधिक दुर्घटना हुने र सास्ती खेप्नु परेको खाँचीखोलामा पुल बनेपछी सहज भएपनी नरपानीदेखी सन्धिखर्क बजारसम्मको सडकलाई जतिसक्दो चाँडो स्तरोन्नती गर्नुपर्ने देखिन्छ । अत्याधिक घुम्तीहरु र साँघुरो सडकका कारण यो क्षेत्र ‘डेन्जर जोन’ का रुपमा परिचित छ । दोहोरो यातायात आवत–जावत गर्नेगरी निर्माण कार्य अँगाडी बढाईएको यो सडकखन्डको मध्यभाग देखी १५–१५ मिटर छोडेर घर बनाउन सडक डिभिजन शिवपुर कपिलवस्तुले आग्रह गरेको छ ।
सन्धिखर्क बजार चुत्राबेसी बजार 

गोरसिङ्हे गोरसिङे 

गोरसिङे पत्थरर्कोट

अन्य समाचारहरु