अर्घाखाँचीमा भेला, कार्यक्रम, भोजभतेर, मेला गर्न निषेध, कोरोना भाइरसको जोखिमप्रति सजग रहन प्रशासनको आग्रह

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची, २१ फागुन । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भिड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न नगराउन सबैमा अनुरोध गरेको छ । आज एक सार्वजनिक अनुरोध गर्दै कार्यालयले कोरोना भाइरसबाट बच्न, मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।
विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै सजग रहन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सबैमा अनुरोध गरेको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जारी गरेको अनुरोधमा जिल्लामा भेला, कार्यक्रम, भोजभतेर, मेला लगायत भिडभाड नगर्न अनुरोध गरिएको छ । 
चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप संसारका धेरै देशहरुमा फैलिसकेको र त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो । गम्भीर परिस्थितिलाई मूल्यांकन गरी जिल्लाभरका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई ठूला सभा, सम्मेलन, मेला महोत्सव, महायज्ञ, भेला तथा भोजभतेर नगर्न कार्यालयले अनुरोधमा उल्लेख गरेको छ ।
विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।
आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर, नगर्न आग्रह गरेका हुन्। सरकारले कोरोना भाइरसको सं’क्रम’ण रोक्नका लागि विभिन्न चरणमा पूर्व तयारी गरिरहेको उनले बतएका छन्। भिडभाड हुने मठ मन्दिर लगाएत अन्य ठाउँमा पनि नजान सरकारले सचेत गराएको छ ।
मन्त्री ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सिमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचाँजमा कडाई गर्ने तयारी गरेको छ। मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना सं’क्र’मण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको छ। कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको उनले बताए।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि सरकारले गरेको छ। सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्बाद समेत प्रभावित हुने देखिन्छ।
त्यस्तै कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।
उनका अनु्सार नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक पूर्वाधार, परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतबाट दैनिक सयाँै नेपाली जमुनाह नाका हुँदै नेपालगञ्ज प्रवेश गर्छन् । यसरी प्रवेश गर्नेमध्ये बिरामी परेका र आफैँ स्वास्थ्य जाँच गर्न चाहने व्यक्तिलाई सीमानाकामा स्वास्थ्य जाँच हुँदै आएको छ ।
“बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौँ, नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन”, स्वास्थ्य शाखा संयोजक चन्दले भने, “सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले आवश्यक समन्वय गर्दैछौँ ।”
जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने सयाँै मानिसको स्वास्थ्य परीक्षण गर्नका लागि ठूलै व्यवस्थापनको खाँचो रहेको उनको भनाइ छ । सहयोगीकक्षमा इन्फारेड थर्मोमिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए ।
उनका अनुसार इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउँछ । ज्वरोको अवस्था हेरेर सहयोगीकक्षका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी प्रेषण गर्ने गरिएको छ । बाँके, बर्दियालगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसका बारेमा उच्च सर्तकता अपाउने निर्णय गरेपछि दुवै जिल्लाका सीमानाकामा स्वास्थ्य सहयोगीकक्ष राखिएको थियो ।
कोरोना भाइरसका कारण हालसम्म दुनियाभरका ६७ देशमा फैलिइसकेको र ९० हजारभन्दा बढीमा संक्रमण भइसकेको जनाइएको छ जसमध्ये ३ हजारको मृत्यु भइसकेको छ ।

अन्य समाचारहरु