लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सरोकारवालाहरुको बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।
बैठकले संक्रमण फैलन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह, मेला तथा महोत्सवहरु आयोजना नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दैं सचेत हुन सबैलाई आग्रह गरेको हो । यस्तै जिल्ला बाहिर अति आवश्यक काम बाहेक अनावश्यक घुम्न, कार्यक्रममा सहभागीता हुन, विबाह पार्टी, भोजमा नजान र बाहिरबाट पनि त्यस्तो कार्यक्रम आउन लागेको छ भने तत्काल जिल्ला नआउन आह्वान गरिएको छ ।
यस्तै नेपाल प्रेस युनियन अर्घाखाँचीले पनी विज्ञप्ती जारी गर्दै सचेत रहन सबैलाई आग्रह गरेको छ । अध्यक्ष विरेन्द्र केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भेला, सभा, समारोह, भ्रमण नगर्न सचेत गराईएको छ ।
यस्तै अर्घाखाँचीका ६ वटै स्थानिय तहहरुले छुट्टाछुट्टै विज्ञप्ती निकालेर सबै नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । कोभिड–१९ नामक भाईरसका कारण लाग्ने यो रोगबाट सफासुघ्घर रहे र सचेतना अपनाए बच्न सकिन्छ ।