अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमको दुर्गाफाँटमा ११० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर एक महिने गाउँपालिकास्तरीय आधारभुत व्युटिसियन तालिमको शुरु भएको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्षको लक्षित कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरेको हो । एक महिना सम्म सञ्चालन हुने सो कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमज्यू तथा विशिष्ठ अतिथि पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमज्यूले गर्नु भएको थियो । वडा नं ५ को वडा सदस्य पार्वता सुनार अतिथि रहनु भएको सो कार्यक्रमको अध्यक्षता महिला, बालबालिका तथा समाज कल्याण इकाइ प्रमुख रमा पौडेलले गर्नु भएको थियो ।

आज विश्वभर “समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता” भन्ने नाराका साथ ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । सो दिवसको अवसर पारेर राखिएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अच्युत गौतमज्यूले गाउँपालिकाले लक्षित वर्गका लागि ल्याएका कार्यक्रममा सक्रिय सहभागी भइ सबैले आर्थिक-सामाजिक पक्षको विकासका लाग्नु पर्ने बताउनु भयो । महिलाहरूका लागि विभिन्न शिपमुलक तालिम, शसक्तिकरण तथा नेतृत्व विकासका कार्यक्रमहरू आयोजना गरिदै आएको तर विगतमा त्यस्ता तालिमहरूमा सहभागीले सिकेको शीपलाइ व्यवहारमा उतार्न नसकेको र शीपलाइ व्यवसायिक बनाउन नसक्दा त्यस्ता तालिम उपलब्धिविहिन हुन पुगेकोले सहभागीहरूले आफूले सिकेको शीपको उपयोग हुने गरी आयआर्जन तथा स्वरोजगार हुने तर्फ उन्मुख हुनु पर्नेमा जोड दिनु भयो । त्यस्तै व्युटिशियन तालिममा प्रशिक्षकहरूले आयातित केमिकलहरूको प्रयोगका साथ-साथै प्राकृतिक वस्तु र परम्परागत रूपमा घरमा प्रयोग हुदै आएका सामाग्रीहरूको समेत उपयोग गर्न सिकाउनु पर्ने विषयमा ध्यानाकर्षण गराउनु भयो । कुनै पनि श्रम सानो-ठूलो नहुने भएकोले सबैले श्रमको उचित सम्मान गर्नु पर्ने र महिलाहरूलाइ पारिवारिक जिम्मेवारीका साथसाथै आर्थिक सहभागितामा लाग्न यस्ता तालिम उपलब्धिमुलक हुने भएकोले तालिममा सहभागी हुन आउनु भएका सबैलाइ शुभकामना दिनु भयो ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमज्यूले शिपलाइ तत्काल व्यवहारमा उतार्न सकिने पेशामा लाग्न सबैलाइ आह्वान गर्नुभयो । जब सम्म नारीहरू आर्थिक रूपमा सक्षम हुदैनन् तब सम्म नारी समानताका कुरा कागजमा मात्र सिमित हुने भएकोले आफूमा अन्तर्निहित ज्ञान, शीपको उचित उपयोग गर्न र यस्ता शिपमुलक तालिममा सहभागी भइ आयआर्जनमा सहभागी हुन र उद्यमशील बन्न जोड दिनुभयो । महिलाहरूमाथि हुने विभेद, हिंसा र असमानताको अन्त्यका लागि पनि महिलाहरूले आफ्नो सक्षमता विकासमा जोड दिनु पर्ने वहाँको धारणा रहेको थियो ।
प्रमुख प्रशिक्षकको रूपमा तालिम दिनु आउनुभएकी मञ्जु के.सी.ले व्युटिशियन प्रति समाजमा रहेको धारणा परिवर्तन गर्न र परिवर्तनलाइ आत्मसात गर्न सुरूवात आफैबाट गर्नुपर्ने र सिकाइ र काममा इमान्दारिता देखाउनु पर्ने विषयमा मत राख्नु भयो । गाउँपालिकाका सबै ८ वडाहरूबाट २० जना प्रशिक्षार्थीको सहभागिता रहने सो कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक विकास शाखाका अधिकृत कमल कान्त खनालले गर्नु भएको थियो ।