अर्घाखाँची अस्पतालले मुहार फेर्दै, गत साता ७ वटा गर्भवती महिलाका सफल अप्रेशन

लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची, ७ चैत । व्लड बैंकको अभावले सामान्य अप्रेशन समेत नहुने जिल्ला अस्पताल अर्घाखाँचीमा गत साता ७ वटा गर्भवती महिलाका सफल अप्रेशन भएका छन् ।
सन्धिखर्कमा रहेको सरकारी अस्पताल 
बल्डबैंक नहुँदा प्रायजसो रिफर सेन्टरका रुपमा काम गरिरहेको अस्पतालले अभावकै बिच अप्रेशन सेवा पुनः सुचारु गरेको छ । नेपाली सेना र सशस्त्र प्रहरीले आवश्यक परेको खण्डमा रगत उपलब्ध गराउने प्रतिबद्धता जानएपछि गर्भवती महिलाको अप्रेशन हुन थालेको हो ।
अर्घाखाँची अस्पताका प्रमुख डा.कपिल गौतमको नेतृत्वमा अप्रेशन गरिएपछि छिमेकी जिल्ला गुल्मीको मदाने गाउँपालिकाका सरिता खड्काको परिवार खुसी भएका छन् । उनका ससुरा चुरा बहादुर खड्काले नजिकैको अस्पतालमा शल्यक्रिया भएपछी धेरै राहत भएको बताए । ‘दुरीका हिसाबले पनी अस्पताल नजिकै छ, उनले भने, बुटवल जाँदा ६ घण्टाको बाटो बिरामीलाई पनी आपत हुन्छ ।’ नजिक भएपछी बिरामीसंगै परिवारलाई पनी राहत हुने उनको तर्क छ ।
भुमिकास्थान नगरपालिका वडा नम्बर–६ खिल्जीकी पार्वता पुनले पनी यसै साता जिल्ला अस्पतालमै छोरा जन्माईन् । जिल्लामै अप्रेशन भएपछी सहज भएको उनको भनाई छ । ‘जिल्लामा अप्रसेन सेवा नहुँदा गाउँबाट छ देखी आठ हजार खर्चेर गाडी रिजर्व गरी बुटवल जानुपर्ने बाध्ययता थियो, सुत्केरी पुनले भनिन्, बाटो पनी अफ्ठ्यारो छ, बिरामीलाई झन् गाह्रो हुन्छ ।’ अप्रसेन सफल भएपछि ढुक्क भएर अप्रसेन गर्न अन्य दिदिबहिनीलाई उनले आग्रह गरिन् ।
अस्थाई रुपमै भएपनी अप्रेशन सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ । ब्लड बैंक स्थापना नहुँदा सम्म दिगो नहुने जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.कपिल गौतमको भनाई छ । पर्याप्त कर्मचारी र ब्लड बैंक नहँुदा पनि बिरामी र सहयोगीहरुको विश्वासका कारण शल्यक्रिया गरेर बच्चा निकाल्न सफल भएको उनले बताए । ‘शल्यक्रिया गर्ने सबै उपकरण र सामाग्रीहरु हामीसंग छन्, उनले भने, ब्लड बैंकनै मुख्य समस्या हो । त्यसको समाधानको पहल गरिरहेका छौं ।’ नेपाल आर्मीको अर्घाखाँची स्थित रामवाण गुल्म र सशस्त्र प्रहरीको ३६ नम्बर गुल्मले धेरै ठुलो सहयोग गरेको उनको भनाई छ ।
सन्धिखर्कमा रहेको सरकारी अस्पताल 
स्थापना भएको ३१ बर्षपछि चौबिसै घण्टा ल्याब र एक्सरे सेवा
जिल्ला अस्पताल स्थापना भएको ३१ बर्षमा १५ जना डाक्टरहरु प्रमुख बनेर आए । निजी मेडिकलमा पल्किएका डाक्टरहरुको ध्यान जिल्ला अस्पतालमा भन्दा निजी मेडिकल तिर बढी थियो । फितलो आन्तरिक व्यवस्थापन र कमिशनको चलखेलले सेवा विस्तार हुन सकेको थिएन । अहिले अस्पताल स्थापना भएको ३१ बर्षपछि यही मंगलवारबाट चौबिसै घण्टा ल्याब र एक्सरे सेवा सुरु गरिएको छ । जिल्लावासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले जिल्ला अस्पतालमै स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले चौबिसै घन्टे ल्याब र एक्सरे सेवा विस्तार गरिएको हो । यससंगै बिरामीहरुलाई रातीको समयमा महंगो शुल्क तिरेर बाहिरी निजी मेडिकल धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालले अहिले भिडियो एक्सरे, इसिजी, फार्मेसी, आकस्मिक लगायतका सेवा चौबिसै घन्टा शुरु गरेको अस्पताल प्रमुख डा.कपिल गौतमले जानकारी दिए ।
अझै पनि १५ शैया मात्र
२०४५ सालमा स्थापना भएको जिल्लाको एक मात्र १५ शैयाको सरकारी अस्पताल अहिले पनी १५ शैयामै सिमीत छ । जिल्ला स्थित राजनितीक दलका नेताहरुले पटक पटक घोंषणापत्रमा ५० शैयाको अस्पताल बनाउने उल्लेख गरेपनी त्यसका लागी कसैले पहल गरेका छैनन् ।
अस्पताललाइ पचास शैयाको बनाउन आफुहरुले पहल गरिरहेको प्रदेश सांसद रामजी प्रसाद घिमिरेले बताए । ‘अस्पतालको स्तरवृद्धी नहुँदा सामान्य विरामीले पनी सास्ती खेप्नु परेको छ, उनले भने,‘ यसको स्तरोन्नतीका लागि सबै लागि रहेका छौं ।’
पन्ध्र शैयाको अस्पताल भएपनी बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले ३७ वटा शैया राखेर उपचार गर्दै आएको छ । अस्पतालको स्तरोन्नती नहुँदा र कर्मचारी अभावका कारण प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको अर्घाखाँची अस्पतालका डाक्टर सन्तोष न्यौपानेले बताए ।
‘३७ वटा वेड राखेर उपचार गर्दा पनी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकेका छैनौं, डाक्टर न्यौपानेले भने,‘ विरामीको चाप बढि रहेको छ । १५ शैयाको अस्पताल अनुसारको दरवन्दी छ । यति धेरै विरामीलाइ भर्ना गरेर उपचार गर्नु पर्ने बाध्यता छ ।’
 अस्पतालमा अत्याधुनिक उपकरण भएपनी जनशक्तीको अभावले त्यो प्रयोगमा आउन नसकेको उनको भनाई छ ।
हाल १६ जना स्थायी र केही करारका कर्मचारीले अस्पताल धानेका छन् । १५ शैयाको मात्र स्विकृत दरबन्दी हुँदा बिरामीको चापलाई थेग्न मुश्किल परेको छ ।
स्वास्थ्य बिमाले बिरामीको चाप बढ्दो
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछी जिल्ला अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । अस्पतालको गुणस्तर सेवा र बिमा कार्यक्रमले गर्दा अस्पतालमा दैनिक दुईसय देखी २ सय तिस जना बिरामी आउने गरेको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.कपिल गौतमले बताए ।
अस्पतालले सुरक्षित गर्भपतन सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, ल्याब, अनलाईन रजिष्ट्रेशन काउन्टर, सामाजिक सेवा ईकाई, चौबिसै घन्टे ल्याब र एक्सरे सेवा, इमरजेन्सी सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ । असपतालको व्यवस्थापन चुस्त दुरुस्त राख्न सिसी क्यामेरा जडान, ईन्टरकम, ई हाजिरी, सफ्टवेयर मार्फत ओपिडी टिकट काट्ने व्यवस्था र सबै खाले आर्थिक गतिविधी कम्प्युटर मार्फत गर्न थालिएको प्रमुख गौतमले जानकारी दिए । ५० शैयाको अस्पतालका लागी डिपिआर पनी तयार पारिएको उनले बताए । 

अन्य समाचारहरु