अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले आजबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको लकडाउन आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत हुने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने जो कोहीलाई तत्काल नियन्त्रणमा लिइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज देखि नियन्त्रणमा लिने बताएको हो । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो । “पहिलो, दोस्रो दिनमा जानकारी भएन भन्ने कुरा हुनसक्थ्यो, अहिले सबैले थाहा पाएर पनि बेवास्ता गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, अत्यावश्यकबाहेक हिँड्ने र सवारी चलाउने छुट छैन, प्रहरीले पक्राउ गर्ने, जिल्ला प्रहरी कार्यालयले बतायो ।
“दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले अब प्रहरी यसमा निर्ममरूपमा अघि बढ्छ, कोही पनि बाहिर ननिस्किनुस् भन्ने प्रहरीको भनाई छ ।
विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।