अर्घाखाँचीमा कोरोना संक्रमणका शंकास्पद व्यक्तिले क्वारेन्टाइनमा राख्दा प्रहरीले पाउने रासनभत्ता बराबर रासन खर्च पाउने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा प्रहरीले पाउने रासनभत्ताबराबर नै उनीहरूलाई पाउने भएका छन् । 
उता कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा उनीहरूको खाना खर्च सरकारले नै व्यहोर्ने हुँदा सन्धिखर्क लगायत जिल्लाभर प्रहरीबराबर रासन खर्च पाउने भएका हुन् । 
यस्तै कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डमा प्रहरीबराबर रासन खर्च दिने उल्लेख छ । मापदण्डको बुँदा नम्बर ११(२) मा भनिएको छ, ‘क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूलाई प्रतिदिन प्रतिव्यक्ति क्वारेन्टाइनमा रहेको जिल्लामा कार्यरत नेपाल प्रहरीका लागि निर्धारित रासन दररेटबमोजिमको खाना खाजा खर्च उपलब्ध गराइनेछ ।’
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिमा सुरक्षा निकायका प्रतिनिधि, जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट, रेडक्रसको प्रतिनिधि, सम्बन्धित वडा अध्यक्ष, सम्बन्धित डिभिजन सहरी विकास कार्यालयको प्रतिनिधि सदस्य रहनेछन् ।
प्रहरीको रासन दररेट जिल्लापिच्छे फरक छ । औसतमा उनीहरूले दैनिक करिब दुई सय रुपैयाँ पाउँछन् । दुर्गम जिल्लालाई धेरै तथा सुगम जिल्लाका प्रहरीले थोरै पाउने गर्दछन् । क्वारेन्टाइनमा बस्नेहरूको खाना तथा खाजाको व्यवस्थापन सुरक्षा निकायबाट हुने उल्लेख छ ।
क्वारेन्टाइनको खर्च कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषबाट गरिने भएको छ । तीनै तहका सरकारले यस्तो कोष बनाइसकेका छन् । क्वारेन्टाइनसम्बन्धी मापदण्ड सबै जिल्ला तथा स्थानीय तहमा कार्यान्वयनका लागि पठाइएको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
क्वारेन्टाइनमा खानासम्बन्धी व्यवस्थापनको जिम्मेवारी सरकारले सेनालाई दिएको छ । प्रहरी दैनिक शान्तिसुरक्षालगायत अन्य काममा सहभागी हुने भएकाले सेनालाई यससम्बन्धी जिम्मेवारी दिने निर्णय गरिएको हो ।
सेनाले मेस सिस्टममा उनीहरूलाई खाना र खाजा खुवाउने तयारी गरेको छ । हाल सञ्चालनमा रहेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पनि सेनाले नै व्यवस्थापन गर्दै आएको छ । जहाँ क्यान्टिनमार्फत खाना र खाजा खुवाउने गरिएको छ । 

अन्य समाचारहरु