दुई सय बढी अर्घाखाँचीबासीहरु सुनौली र कृष्ण नगरको बढनी नाकामा अलपत्र, उद्दार गर्न सिडियोसँग अनुरोध

अर्घाखाँचीडट्कम संवाददाता
भैरहवा/ कृष्ण नगर  । भारतबाट आएका सय जना बढी अर्घाखाँचीबासीहरु सुनौली नाकामा अलपत्र परेका छन् । 
भारतका विभिन्न ठाउँबाट आएका सय भन्दा बढी अर्घाखाँचीबासीहरु सुनौली–भैरहवा नाकामा दुई दिनदेखि अलपत्र परेका हुन् । अलपत्र पर्नेमा अर्घाखाँची जिल्लाका सबै ६ स्थानिय निकायका मानिसहरु रहेका छन् ।   
सीमाबाट आवागमन रोक्न सरकारले एक सातादेखि सीमा बन्द गरेको र सुनौली नाकामा भारततर्फ पनि सबै पसल बन्द भएकाले पानी समेत खान नपाएको उनीहरूले गुनासो गरेका छन् । सरकार तथा स्थानीय निकायले आफ्ना नागरिकलाई उचित पहल गर्न नखोज्दा उनीहरूले त्यहाँ कष्ट बेहोरिरहेको बताइएको छ ।
यस्तै सुनौली नाकामा आइपुगेका उनीहरूलाई नेपालतर्फ आउन नदिएपछि भारततर्फको सुनौली बसपार्क वरपर र नजिकको सरकारी स्कुलमा बसिरहेको बताएका छन् । नेपाल प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई भारततर्फ भगाएको त्यहाँ रहेका उनीहरूले बताएका छन् ।  
यस्तै कृष्ण नगरको बढनीमा पनि १०० भन्दा बढी अर्घाखाँचीबासी अलपत्र परेका छन् । उनिहरुको पनि समस्या उस्तै छ । अरुका त कुरा छोडौ पसल बन्द भएकाले पानी समेत खान नपाएको उनीहरूले गुनासो गरेका छन् । आफ्नै देश पुगेर क्वारेन्टाइनमै बस्ने योजनामा आएका उनीहरूलाई नेपालकै प्रहरीले समेतले दुर्व्यवहार गरेको उनिहरुको गुनासो छ ।
अलपत्र परेकाहरूले भने जिल्ला प्रसाशनले कुनै समन्वय नै नगरेको भन्दै दुखेसो पोखेका छन् । अलपत्र परेका अर्घाखाँचीबासीले आफ्ना सम्पर्कका राजनीतिक दल र स्थानीय सरकारलाई समस्या बताउँदा पनि कुनै पहल नगरेको समेत बताएका छन् । उनिहरुले जिल्ला प्रमुख अधिकारी विजयराज पौडेललाई उद्दार गर्न अनुरोध गरेका छन् ।     
सिमानासम्म आएर नेपाल प्रवेश अनुमति नपाएपछि उनीहरू भारतीय भूमिमै रात कटाउन बाध्य छन् । आफूले काम गरेको कम्पनी बन्द भएपछि र मालिकले धपाउन थालेपछि विवश भएर नेपाल फर्किनुपरेको पीडा उनीहरूको छ । ‘काम गरेको कम्पनी बन्द भएपछि मालिकले राख्न मानेन,’ मालारानी गाउँपालिका–३ का सुनिल खनालले भने, ‘अहिले प्रवेश नपाउँदा देश परायाजस्तो लाग्न थाल्यो । आफ्नै घरको ढोका बन्द गरेजस्तो हुन थाल्यो ।’ सुनौलीमा अलपत्र परेका अधिकांशले भारतमा खाने र बस्ने समस्या भएपछि नेपाल फर्कनुपरेको बताए ।
उनीहरूले सरकारले तोकेको स्थानमा दुई सातासम्म बस्न तयार रहेको बताएका छन् । ‘हामी क्वारेन्टाइनमा बस्न तयार छौं,’ नरपानीका सुरेश भुसालले भने, ‘हामी सबै जना नेपाल पुगेपछि दुई साता क्वारेन्टाइनमा बिताउने मनस्थितिले हिँडेका हौंं ।’ अलपत्र परेका उनीहरूको अवस्था के हुने भन्ने सोमबार साँझसम्म टुंगो लाग्न सकेको छैन । जिम्मेवार निकायका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय सरकार कसैले पनि यसप्रति चासो नदिएको उनीहरूले गुनासो गरे । उनिहरुले नाका बन्द हुने कुरा आफुहरुलाइ जानकारी नै नभएको बताए। आफुले काम गर्ने होटल बन्द गरेर मालिकले बेतलबी बिदा दिएपछि घर फर्कनु परेको उनले बताए।
अलपत्र पर्नेहरुमा परिवारसहित आएका महिला तथा स–साना बालबालिकाहरु पनि छन्। दुई ÷तीन बर्षका सा साना बालबालिका बोकेका महिलाहरु सुनौलीको सडक पेटीमा बिहादेखि अलपत्र बसेका छन्। सुनौलीमा पनि अधिकांश पसल तथा होटल रेष्टुराहरु बन्द रहेकाले बालबालिकाहरुलाइ भोकै सडकमा राख्नु परेको गुनासो उनीहरुले गरेका छन्।
अलपत्र पर्नेमा रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, प्युठान र रुकुमसम्मका सयौँ नेपालीहरू रहेका छन् ।  

अन्य समाचारहरु