शोभाखर पन्थी
अर्घाखाँची चैत /१९ । लकडाउन लम्बिए सँगै के खाने भन्ने चिन्तामा रहेका सन्धिखर्कका बासिन्दालाई राहत मिलेको छ । सन्धिखर्क नगरपालिकाले दैनिक ज्याला मजदुरी बाट जिबीको पार्जन गर्दै आएका बिपन्न परिवारलाई खाद्य सामग्री उपलब्ध गराउने निर्णय गरे सँगै यहाँका बासिन्दाले राहतको अनुभुती गरेका हुन् ।
सन्धिखर्क नगरपालिकाको आज सम्पन्न बैठकले ५ जना रहेको परिवारलाई ३० किलो चामल,२ किलो दाल,१ लिटर तेल,१ किलो नुन उपलव्ध गराउने निर्णय गरेको छ । यसैगरी ४ जना सम्मको परिवारलाई २० किलो चामल ,२ किलो दाल,१ लिटर तेल, १ किलो नुन तथा दुई जना सम्मको परिवारलाई १० किलो चामल , २ किलो दाल,१ लिटर तेल र १ किलो नुन उपलव्ध गराउने निर्णय गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो । उहाँले नगरका प्रत्येक वडा सँग दैनिक ज्याला मजदुरी बाट जिबीको पार्जन गर्दै आएका गरिव तथा विपन्न जनताको तथ्यांक मागिएको र सोही अनुसारको खाद्य सामग्री पठाउन लागिएको बताउनुभयो ।
पालिकाको यो निर्णय सँगै सन्धिखर्क नगरपालिका भित्र बस्दै आएका करीव १ हजार ७ सय गरिव तथा बिपन्न परिवार लाभान्वित हुने भएका छन् ।
गरिव तथा विपन्न परिवारको यथार्थ तथ्यांक नभएका कारण खाद्य सामग्री वितरणमा केही ढिलाई भएको नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क. किशोरको भनाई छ । उहाँले नगरभित्रका कुनै पनि जनतालाई भोकै बस्ने अबस्था आउन नदिने बताउनुभयो । आफ्नो नगरभित्रका नागरिकको जीवन रक्षा गर्नु आफुहरुको पहिलो दायित्व भएको बताउँदै उहाँले लकडाउनका कारण सिर्जित जनताका समस्या समाधानको निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
जिल्लामा दैनिक ज्याला मजदुरी बाट जिबीको पार्जन गर्ने हरुको संख्या अन्य ५ पालिकाको तुलनामा सन्धिखर्कमा निक्कै बढी छ । सन्धिखर्कको वडा नं.१ र २ मा मात्रै सयौं घरबास बिहिन मजदुरहरु बस्दै आएका छन् । यहाँ जिल्लाको अरु पालिका बाहेक प्युठान ,रोल्पा ,गुल्मी ,दाङ जिल्ला बाट आएका मजदुरहरु समेत बस्ने गर्छन् ।
यसैबीच बैठकले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण वडा स्तरीय समन्वय समितिलाई क्रियासिल बनाउने ,नगरपालिका भित्र बिहान बेलुकीका छाक टार्न समस्या भएका परिबारको वडामार्फत लागत संकलन गर्ने ,खाद्य सामग्री वडामार्फत बितरण गर्ने,
कुनै व्यक्ति ,गैरसरकारी संघ संस्थाहरुले विपन्न जनतालाई सहयोग गर्न चाहेमा नगरपालिका सँग समन्वय गरि वडा मार्फत बितरण गर्न लगाउने, नगरभित्रका स्वास्थ्य संस्थाहरुमा अधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा प्रदान गर्न स्वास्थ्य शाखा मार्फत निर्देशन दिने ,कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण ,क्वारेन्टाइन व्यवस्थापन ,विपन्न गुजारा चलाउन नसक्ने परिवारलाई राहत व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले लकडाउनलाई प्रभावकारी बनाउन सम्वन्धित वडाहरुले अन्य स्थान बाट आवत जावत गर्ने कार्यलाई रोक्न आम जनसमुदायलाई सचेत गराउने ,कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको नाममा मापदण्ड विपरीतका सामग्री वितरण गर्ने कार्य लाई तत्काल रोक्ने , राहत प्याकेजको सामग्री खरिदको प्रक्रिया प्रचलित कानुन बमोजिम अवलम्बन गरि यथासिघ्र वडामा पठाउने लगायतका निर्णय गरेको उपप्रमुख ठाकुर कुमार बि.क.ले जानकारी दिनुभयो ।