सिमलपानीमा एक घर एक साबुन कार्यक्रम संचालन


गणेश बेल्बासे संगम
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १३ ले कोरोना भाइरसबाट बच्नका लागि एक पछि अर्को नमुना कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
लकडाउनको अवस्थामा पनि आफ्ना जनताको स्वास्थ्यमा ध्यान दिदै यस अघि नै वडा कार्यालयले वडा भरीका प्रत्येक घरधुरी सदस्यलाई मास्क वितरण गरिसकेको छ ।
कोरोना भाइरसबाट बच्नका लागि सवै भन्दा उत्तम उपाय भनेको सफासँग सावुन पानी हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग गर्नुपर्ने सचेतना दिदै वडाका प्रतिनिधीहरु लागि रहेका छ्न ।
वडाले फेरी आज पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न ‘एक घर एक साबुन’ कार्यक्रम सुरु गरेको छ ।
कोरोना भाइरसलाई वडामा भित्रिन नदिन यस्ता कार्यक्रम ल्याइएको वडा अध्यक्ष दुर्गा विसीले बताउनु भयो । भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुलाई भेटेर सेल्फ क्वारेन्टाईनमा बस्नका लागि सल्लाह तथा सुझाव समेत दिइएको अध्यक्ष विसीले बताउनुभयो ।
वडाले साबुन पानीले राम्रोसँग हात धुनुपर्ने सुझाव सहित आज वडाका ६२५ घरधुरीमा साबुन वितरण गरेको छ । अध्यक्ष विसी संगै वडा प्रतिनिधी, स्वास्थ्यकर्मी सहितको टोलीले साबुन घरमै पुगी वितरण गरिएको रातोप्रेस डटकमका समाचारदाता ऋषी विश्वकर्माले जानकारी गराउनु भएको छ ।
वडा अध्यक्ष विसी आफै ‘साबुन पानीले हात धोऔं, घरभित्रै बसौं, कोरोनाबाट बचौं’ भन्ने अभियान सहित वडाका सबै घरधुरीमा सचेतना कार्यक्रम सहित साबुन वितरण गर्नु भएको हो ।

अन्य समाचारहरु