अर्घाखाँचीका एम्बुलेन्स चालकहरुद्वारा पिपिई नपाएको गुनासो

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका एम्बुलेन्स चालकहरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको गुनासो गरेका छन् । प्रदेश पाँच सरकारले चैत १७ गतेनै एम्बुलेन्स चालकहरुका लागि पिपिई उपलब्ध गराउने घोषणा गरेको थियो ।
आफुहरुनै सबैभन्दा बढी जोखिममा रहेको र पिपिई उपलब्ध नहुँदा विरामी बोक्ननै असजिलो भएको एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् ।
अर्घाखाँची जिल्लाभर १७ ओटा एम्बुलेन्स र १७ जना एम्बुलेन्स चालक छन् । प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले आफुहरुलाई एक पटक पनि प्रयोग गर्न नमिल्ने खालको पाँच सेट पिपिई र ५० पिस मास्क मात्र उपलब्ध गराएको एम्बुलेन्स चालक संघका अध्यक्ष बोमबहादुर सन्वनीले बताउनु भयो ।
प्रदेश सरकारले एम्बुलेन्स चालकहरुकालागि पिपिई उपलब्ध गराउने निर्णय गरेपनि आफुहरुले पिपिइ नपाउदा जोखिम मोलेर विरामी बोक्नु परेको अर्का एम्बुलेन्स चालक दिपक थापाले बताउनु भयो । आफुहरुलाई सरकारले पिपिई उपलब्ध नगराएमा विरामीहरुको समेत बिचल्ली हुने उनीहरुको गुनासो छ । अहिले उनीहरु पिपिई विनानै विरामी बोकी रहेका छन् । जिल्लामा कोरोनाको उपचार हुने गरेको छैन । 
बिरामीमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखा परेमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल लिएर जानु पर्छ । तर एम्बुलेनस चालकनै सुरक्षित नहुँदा झन् जोखिम बढ्दो छ ।

अन्य समाचारहरु