अर्घाखाँचीमा लकडाउनको पूर्णपालनाका साथै थप सतर्कता, जिल्ला सुनसान


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो ।
मानिसको बढी भीडभाड हुने सन्धिखर्कका विभिन्न चोक तथा गाउँ – गाउँमा व्यापकरूपमा प्रहरी परिचालनसहित जागरुकताका लागि माइकबाट सूचनासमेत प्रवाह गरिएको छ । कयौ ठाउँमा गाउँले बाटो बन्द गरेका छन् । सन्धिखर्क, चुत्राबेसी सुनसान छ ।  
लकडाउन उल्लङ्घनको आरोपमा दर्जनौ सवारी साधन र दजनौँ स्थानीयवासी कारवाहीमा परेका छन् । जोखिम अर्घाखाँचीमा नभित्रियोस् भन्दै लकडाउनमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । लकडाउनको निर्देशनलाई पूर्णरूपमा पालना गराउन जिल्लाका सुरक्षा निकाय कडाइका साथ लागेको प्रहरीको भनाई छ । 
सन्धिखर्क लगायत जिल्लाका उद्योग, व्यवसाय, पसलहरु पूर्णरुपमा बन्द भएका छन् । अत्यावश्यक दैनिक उपभोग्य गर्ने वस्तु अस्पताल सेवा, स्वास्थ संस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोलपम्प, फलफूल तथा तरकारी पसल भने निश्चित समय तोकिएर सञ्चालन गर्ने अनुमति दिइएको छ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेका लागि स्थानीय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरिरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारका लागि प्रेस पास उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएकालाई रिर्पाेटिङ गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सरकारले गरेको निर्णयको उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा कारवाही गर्ने स्थानीय प्रशासनले योजना बनाएपछि सन्धिखर्क बजार लगायत जिल्लाका  गाउँ- गाउँमा आवतजावत गर्ने तथा बिनाकाम घर बाहिर निस्किनेहरु बन्द भएका हुन् ।
अहिलेसम्म अर्घाखाँचीमा कोरोना रोगको सङ्क्रमित फेला परेका छैनन् । 
कोरोना भाइरस संक्रमणको आशंकामा अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल पठाइएका हालसम्म नौ जनाको नमुना परिक्षणको लागि बुटवल पठाएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको रिपोर्ट आउन बाँकी छ । भने एक जनालाई स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै स्वाब नलिइकन फिर्ता गरिएको छ ।   
यस्तै अर्घाखाँचीमा अहिलेसम्म विदेशबाट आउनेको संख्या १९५७ रहेको छ । अहिलेसम्म  ५ जनालाई आइसोलेशन र ४५ स्थानमा रहेका क्वारेन्टाइनमा ३५ जनालाई राखिएको छ । यस्तै १३ जना होम क्वारेन्टाइनमा रखिएको छ ।
अर्घाखाँचीमा ४४४ क्वारेन्टाइन बेड तयार गरिएको छ ।   

अन्य समाचारहरु