काठमाडौंबाट अर्घाखाँची आउँदै गरेकालाई स्थानिय क्वारेण्टाइनमा नराखिने, सबै घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने
बैशाख ९ गते, २०७७ मा प्रकाशित
डोहोटे स्थित हेल्थ डेस्क
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लकडाउनले राजधानीमा अर्घाखाँचीबासीलाई निकै गाह्रो हुन थालेपछि मंगलबार सयौको संख्यामा काठमाडौंको कलंकीबाट अर्घाखाँचीको लागि बसमा हिंडेका छन्।
काठमाडौंको कलंकीबाट राती ११ बजेसम्म ३ वटा बस छुटेका छन् । भने अरु पनि यात्रु धेरै भएकाले छुटेन् क्रममा छन् ।
पानी परेकाले सयौ बच्चा, महिलाहरु बिचल्लीमा परेको देखिन्थ्यो । यस्तै मंगलबार साँझ ६ बजे ३ वटा बस लैजाने तयारी भएपनि मानिसहरुको संख्या बढी हुँदा राती १० बजे मात्र ३ वटा बस कलंकीबाट छुटेका थिए । कलंकीबाट सबैभन्दा पहिलो बस छत्रगन्जको लागि छुटेको थियो ।
सोचे भन्दा बढी मानिसहरु भएपछि थप बसको लागि राती ११ बजेसम्म विवाद चलेको र सो विवाद मिलाउन पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझी पुगेका थिए ।
स्थानिय क्वारेण्टाइनमा नराखिने
उता काठमाडौंबाट आउने बसहरुका यात्रुहरुलाई जिल्लाका सम्बन्धित ६ वटै पालिकाकामा तयार गरिएका क्वारेण्टाइन नराखी घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी पठाउने तयारी भएको छ ।
जिल्लाभर क्वारेण्टाइन बेड सँख्या ४५८ रहेको छ । तर काठमाडौंबाट फर्कने संख्या अनुमानित १५ सयसम्म रहेकोले स्थानिय तहमा तयार गरिएका क्वारेण्टाइनमा व्य्वस्था गर्न संभव नरहेको शितगंगा, पाणिनी, सन्धिखर्क, मालारानी, छत्रदेव, भूमिकास्थानका स्थानिय प्रतिनिधिले अर्घाखाँचीडट्कमलाई बताए ।
यस्तै बसबाट आउने सबै यात्रुलाई ओरालेर तयार गरिएका हेल्थ डेस्कमा थर्मल गनले ज्वरो नाप्ने र कसैलाई ज्वरो लक्षण देखिएमा स्थानिय क्वारेण्टाइनमा राखी र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिने तयारी भएको बताइएको छ ।
उता अहिलेसम्म अर्घाखाँची जिल्लाभरका क्वारेण्टाइनमा रहेका ३३ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ ।
जिल्लाभर हालसम्म क्वारेण्टाइनमा रहेका ३३ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले अर्घाखाँचीडट्कमलाई बताउनुभयो ।
यस्तै जिल्लामा अहिलेसम्म ८ जनाको पीसीआर परिक्षण नेगेटिभ आएको छ ।
र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटीभ आएका सबै जनालाई थप एक हप्ता घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाएको त्यहाँका स्थानिय प्रतिनिधिहरुले अर्घाखाँचीडट्कमलाई बताए ।
यस्तै जिल्लाभर अहिलेसम्म ४७ जना क्वारेण्टाइनमा रहेका छन् । सन्धिखर्क नगरपालिका वार्ड नम्वर १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको हटारिनेटा क्वारेण्टाइनमा रहेका ७ जना पुरुष, शितगंगा नगरपालिका- १ स्थित कालिका आ. वि मा ६ जना पुरुष र वार्ड- ८ स्थित लापे माविमा ८ जना पुरुष, साथै भूमिकास्थान नगरपालिका १ स्थित इश्वरी आवि राजमेमा ३ जना (२ पुरुष र १ महिला), वार्ड न ३ स्थित अन्नपूर्ण माविमा ६ जना पुरुष, वार्ड न ४ स्थित शान्ति माविमा ४ जना पुरुष र वार्ड न ८ स्थित यशोधरा आविमा २ जना, यस्तै पाणिनी गाउँपालिका ७ को विद्याविनोद माविमा १ जना पुरुष र वार्ड न ५ मा ७ जना (४ जना पुरुष र ३ जना महिला) र मालारानी गाउँपालिका वार्ड न ३ स्थित आदर्श माविमा २ जना पुरुष रहेका छन् ।
साथै जिल्लाभार आइसोलेसन कक्ष १२ रहेका छन्। भने क्वारेण्टाइन बेड सँख्या ४५८ रहेको छ । जिल्लामा प्रदेश सरकार मार्फत ६० थान र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) प्राप्त भएका थियो ।