अर्घाखाँचीमा काठमाडौंबाट आएकालाई भूमिकास्थान नगरपालिकाले मात्र स्थानिय क्वारेन्टाइनमा राख्यो, अरुले घर पठाए
बैशाख ११ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भूमिकास्थान नगरपालिका बाहेक स्थानिय निकायहरुले काठमाडौंबाट अर्घाखाँची फर्केका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरेका छन् ।
भूमिकास्थान नगरपालिकाले काठमाडौंबाट आएका २७ जनालाई क्वारेन्टाइनमा लगेर राखेको हो ।
अर्घाखाँचीमा बुधवार बिहान सन्धिखर्क नगरपालिका ७२, शितगंगा नगरपालिका २४, भूमिकास्थान नगरपालिका २७, मालारानी गाउँपालिकाका ८२, छत्रदेव गाउँपालिकाका ११५, पाणिनी गाउँपालिकाका ७० जना र गुल्मी तथा प्युठानका २६ जना गरी चार सय १६ जना अर्घाखाँची आएका थिए ।
जिल्लाका छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिकाले काठमाडौंबाट आएका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरेका हुन् ।
स्थानिय तहले थर्मल गनले ज्वरो नाप्दै सबैलाई घर – घर पठाएका हुन्। जिल्ला प्रशासन कार्यालयले बुधवार बिहान लकडाउनलाई थप कडाई गर्ने र काठमाडौंबाट अर्घाखाँची फर्केका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।