अर्घाखाँचीमा २१४ क्वारेन्टाइनमा, १७८ जना आरडीटी परिक्षणपछि घर गए

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाभर दुई सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्ला बाहिर तथा भारत र तेस्रो मुलुकबाट आएका गरी जिल्लाका विभिन्न क्वारेन्टाइनमा २ सय १४ रहेका छन् । 
जिल्लाको भूमिकास्थान नगरपालिकामा सबैभन्दा धेरै ९३ जना क्वारेन्टाइनमा छन् । नगरका १० वटै वडामा गरी ९३ जना क्वारेन्टाइन रहेको भूमिकास्थान नगर प्रमुख रेशम थापाले जानकारी दिए ।  
यस्तै मालारानी गाउँपालिकामा ६१ जना क्वारेन्टाइनमा छन् । अधिकांश भारतबाट आएका गरी ९३ जना क्वारेन्टाइनमा रहेकामा ३२ जनाको आरडीटी परिक्षण गरी घर पठाइएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । 
सन्धिखर्क नगरपालिकामा २७ जना, शितगंगा नगरपालिकामा १५ जना, पाणिनी गाउँपालिकामा ११ जना र छत्रदेव गाउँपालिकामा ७ जना क्वारेन्टाइनमा छन् ।  
जिल्लामा १ सय ७८ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएको छ । क्वारेन्टाइनमा १४ दिन बिताएका एक सय ७८ जनालाई घर पठाइएको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।
आरडीटी परिक्षण गरिएका मध्ये एक जनाको परिक्षण पाजिटिभ देखिएको र स्वाब परीक्षणका लागी बुटवल पठाइएकामा स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको डा. गौतमले बताए ।

अन्य समाचारहरु