अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनालाई दुई दिन हुँदा पनि उपचारका लागि कुनै पहल गरिएको छैन ।
अहिले दुबै जना सक्रमितलाई पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा नै राखिएको छ । हिजो मंगलवार सन्धिखर्क ल्याउने, फेरी दाङमा लैजाने भनेता पनि अन्त्यमा सन्धिखर्क राख्ने निर्णय गरिएको छ ।
कोरोना प्रमाणित भएको २ दिन हुँदासम्म पनि थप उपचारको लागी सन्धिखर्क नल्याएको भन्दै व्यापका आलोचना भएको छ ।
सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा १९ र ४३ बर्षका दुई पुरुषमा पीसीआर परीक्षण पाेजिटिभ देखिएको थियो ।
पालीकाे कमला मावि क्वारेन्टाइनमा रहेकाहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा २ जनामा काेराना पाेजिटिभ आएको थियो ।
उनिहरू दुबै जना जेठ २ गते भारतबाट आएका थिए । उनिहरूको जेठ ९ गते पिसीआर जाँचका लागी स्वाव परिक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो ।
उनिहरू सगै क्वारेन्टाइनमा बसेका अन्य ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै दुबैजनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ । अर्घाखाँची जिल्लामा पहिलोपटक कोराना संक्रमण देखिएको हो ।