बिष्णु कुमार आले
ठाडा, अर्घाखाँची जेठ २२ (अर्घाखाँचीडट्कम) । पिसिआर रिपोर्ट आउन ढिला भएपछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नं. ४ ठाडा स्थित श्री ज्योति माबि क्वारेन्टाइनमा बसेका ७ जनालाई दुई पटक आरडिटी परिक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि उनिहरूलाई बिहिबार बिहान घर-घर पठाईएको थियो ।
१२ दिन अगाडि उनिहरूको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको थियो । तर १२ दिनपछी सातै जनाको पिसिआर रिपोर्ट बिहिबार दिउसो सार्वजनिक भयो । घर पठाईएका १ जना शितगंगाका ३६ बर्षिय पुरूषको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सबै झसङ्ग भए । संक्रमित पुरूष सगै अन्य ६ जना पनि घर गएका थिए ।
कोरोना सक्रमित व्यक्ति यसरी गाँउ प्रबेश गर्दा गाँउ टोलका नागरिक झस्कनु स्वाभाविक हो । तर घर पठाउदा स्वास्थ्यकर्मीले घरमै एकान्त कोठामा बस्नु पर्छ ,परिवारसँग १५ दिन सम्म घुलमेल नगर्ने भनेर सम्झाएर पठाएपछि सक्रमित घरपरिवार सँग टाढा रहेर बसिरहेका बेला आजै प्रहरी र स्वास्थ्यकर्मीको टोलि घरमै पुगेर सक्रमितलाई सन्धिखर्क हटारीमा रहेको आईसोलेशनमा ल्याईदै छ । अन्य ६ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । तर सक्रमित पुरूषको हिजो बुधबार आरडिटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । सक्रमित सगै शितगंगा ४ का २ जना , शितगंगा ५ का १ जना , शितगंगा ६ का १ जना, सितगंगा ३ का १ जना र मालारानी ३ का १ जना गरि ६ जना घर गएका थिए ।
सक्रमित घर गएपनि घुलमेल कसैसँग नगरेको पाईएकाले घर परिवार टोललाई शिल गर्नु पर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए । अहिले सक्रमित सन्धिखर्क आईसोलेशनमा आएपछि सोधपुछ गरेर एउटा निष्कर्ष निकालिने प्रजिअ पौडेलले बताए । पिसिआर रिपोर्ट नआउदै क्वारेन्टाइनमा बसेकालाई आरडिटी रिपोर्ट नेगेटिभ आएको आधारमा घरमा पठाउनु गलत थियो । यो भुललाई हामीले आत्मसाथ गर्नै पर्छ । यस्ता कार्य आगामी दिनमा दोहोरिनु हुदैन । यसबाट पाठ सिक्नै पर्छ । यस्ता क्वारेन्टाइन व्यवस्थापनमा फितलो कच्चा कामले गाँउमा कोरोनाको जोखिम बढ्न सक्छ । समयमै सबै सचेत हुन जरूरी छ । पिसिआर रिपोर्ट नआउदै क्वारेन्टाइनमा बसेकाहरूलाई किन घरमा पठाईयो भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कपिल गौतमले पिसिआर रिपोर्ट नआउदै घर पठाउने काम गलत भएको प्रतिक्रिया दिएका छन् । सक्रमित आईसकेपछि सोधपुछ गरिने डाक्टर गौतमले बताए ।
जेठ १ गते उनिहरू भारतबाट हिडेर शितगंगा आएका थिए । क्वारेन्टाइनमा बसेको २२ दिनपछि मात्र पिसिआर रिपोर्ट आएको हो । प्रदेश ५ मा ३ ओटा पिसिआर कोरोना प्रयोगशाला भएपनि सक्रमितको चाँप बढ्न थालेपछि पिसिआर रिपोर्ट ढिला आउन थालेको हो । जिल्ला जिल्लामा प्रयोगशालाको दायरा बढाउन माग गरेपनि सरकारले अझै यसको व्यवस्थापन गर्न सकेको छैन । अर्घाखाँची जिल्लामा पनि कोरोना पिसिआर जाँचका लागी प्राविधिक स्वास्थ्यकर्मी सहित प्रयोगशालाको माग गरिएता पनि यसको सुनुवाई हुन सकेको छैन । पटक पटक जिल्लामा सर्वपक्षियको बैठकले निर्णय गरि प्रदेश तथा संघिय सरकारलाई जिल्लामा प्रयोगशाला स्थापनाको लागी आग्रह गरिरहेको छ । तर सुनुवाई हुन सकेको छैन ।
एकापट्टि किटको अभाव भएको छ भने अर्को जिल्ला जिल्लामा कोरोना प्रयोगशाला नहुदा परिक्षणको दायरा फराकिलो हुन सकेको छैन ।