अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क अर्घाखाँची । अर्घाखाँची जिल्लामा कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिन खरिद गर्ने बारेमा छलफल शुरु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका एक सदस्यले बताए अनुसार भारतबाट फर्किनेहरुको चाप बढेपछि पीसीआर मेसिन खरिद गर्ने बारेमा अनौपचारिक छलफल भईरहेको र छिट्टै निर्णय गरिने भएको हो ।
हाल स्वाब परीक्षणका लागि प्रादेशिक कोरोना प्रयोगशाला भैरहवा र दाङमा भर पर्नुपरेको छ ।
पीसीआर मेसिन खरिदका लागि नगरपालिकाहरु र गाउँपालिकाहरुका प्रतिनिधिसँग छलफल गरिने बताइएको छ । यस्तै जिल्ला समन्वय समितिले पनि केही रकम उपलब्ध गराउने बताइएको छ । सर्वपक्षिय निर्णय भएपछि मात्र पीसीआर मेसिन खरिदका लागि टेण्डर (बोलपत्र) आह्वान गरिने स्रोतको भनाई छ ।
पीसीआर मेसिन र त्यसमा लाग्ने सबै उपकरण समेत गरेर करिब ६५/७० लाख पर्छ । यस्तै मेसिन र किट खरिदपछि जिल्ला अस्पताल अर्घाखाँचीमा मेसिन उपलब्ध गराईने र त्यहाँबाट जेकजाचको काम हुने पनि बताइएको छ ।
उता अर्घाखाँची जिल्लामा भारतबाट आएका ४ हजार ३ सय ४८ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये २ सय ४२ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
भारतमा रोजगारी गर्दै आएका अर्घाखाँचीवासी, रोजगारी गुम्दै गएपछि जिल्ला फर्कने क्रम बढिरहेको छ । हालसम्म सन्धिखर्क नगरपालिकामा ५ सय ५१, शितगंगा नगरपालिकामा १ हजार १ सय ३५, भुमिकास्थान नगरपालिकामा १ हजार ४८, पाणिनी गाउँपालिकामा ४ सय २५, छत्रदेव गाउँपालिकामा ३ सय ९२, र मालारानी गाउँपालिकामा ५ सय ५४ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म भूमिकास्थान नगरपालिकाबाट ९२ जना, छत्रदेव गाउँपालिकाबाट ७४ जना, मालारानी गाउँपालिकाबाट ४४ जना र पाणिनी गाउँपालिकाबाट ३२ जना डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । अर्घाखाँचीका ६ स्थानीय तहका दुई सय ३८ क्वारेन्टाइनस्थलमा पाँच हजार दुई बेड तयार रहेका छन्।
उता अर्घाखाँचीबासीले जिल्लामा कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिन खरिद गर्न भनी निरन्तर दवाब दिदै आएका छन् ।