अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ तहका स्थानिय जनप्रतिनिधि, राजनितिक दल, संघ- संस्थाहरुले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेका छन् ।
आरडीटीको विश्वसनीयता नभएको भन्दै स्थानिय जनप्रतिनिधि, राजनितिक दल, संघ- संस्थाहरुले परीक्षण रोक्न माग गरेका हुन् ।
जिल्लाका प्राय वार्डका स्थानिय जनप्रतिनिधिले आरडीटीको भरमा घर पठाइएकाहरुबाट कोरोनाको संक्रमण फैलिन सक्ने वताए । उनहरुले आरटी-पीसीआर परीक्षण गर्नु पर्ने र यसका लागि तुरुन्त ‘पीसीआर’ मेसिन खरिद गर्नुपर्ने माग गरे ।
अर्घाखाँचीमा जेठ १२ गते सोमवार पहिलो कोरोना संक्रमित पत्ता लागेको १५ दिन भन्दा पनि बढी समय पुग्दासमेत संक्रमण फैलन नदिन जिल्लामा पर्याप्त तयारी नगरेको भन्दै उनिहरुले चिन्ता व्यक्त गरेका छन् ।
युरोपियन देशहरुले आरडीटी किटको प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको भन्दै सन्धिखर्क लगायत जिल्लाभरका वार्ड प्रतिनिधिहरुले आरडीटी परीक्षणको औचित्य नभएको भन्दै बन्द गर्न माग गरेका छन् ।
यस्तै सामाजिक संजालमा पनि अर्घाखाँचीबासीले आरडीटी परीक्षण रोक्न माग गरेका छन् ।
अर्घाखाँचीमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न छलफल शुरु
उता अर्घाखाँची जिल्लामा कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिन खरिद गर्ने बारेमा छलफल शुरु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका एक सदस्यले बताए अनुसार भारतबाट फर्किनेहरुको चाप बढेपछि पीसीआर मेसिन खरिद गर्ने बारेमा अनौपचारिक छलफल भईरहेको र छिट्टै निर्णय गरिने भएको हो ।
हाल स्वाब परीक्षणका लागि प्रादेशिक कोरोना प्रयोगशाला भैरहवा र दाङमा भर पर्नुपरेको छ ।
पीसीआर मेसिन खरिदका लागि नगरपालिकाहरु र गाउँपालिकाहरुका प्रतिनिधिसँग छलफल गरिने बताइएको छ । यस्तै जिल्ला समन्वय समितिले पनि केही रकम उपलब्ध गराउने बताइएको छ । सर्वपक्षिय निर्णय भएपछि मात्र पीसीआर मेसिन खरिदका लागि टेण्डर (बोलपत्र) आह्वान गरिने स्रोतको भनाई छ ।
पीसीआर मेसिन र त्यसमा लाग्ने सबै उपकरण समेत गरेर करिब ६५/७० लाख पर्छ । यस्तै मेसिन र किट खरिदपछि जिल्ला अस्पताल अर्घाखाँचीमा मेसिन उपलब्ध गराईने र त्यहाँबाट जेकजाचको काम हुने पनि बताइएको छ ।
उता अर्घाखाँची जिल्लामा भारतबाट आएका ४ हजार ३ सय ४८ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये २ सय ४२ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
भारतमा रोजगारी गर्दै आएका अर्घाखाँचीवासी, रोजगारी गुम्दै गएपछि जिल्ला फर्कने क्रम बढिरहेको छ । हालसम्म सन्धिखर्क नगरपालिकामा ५ सय ५१, शितगंगा नगरपालिकामा १ हजार १ सय ३५, भुमिकास्थान नगरपालिकामा १ हजार ४८, पाणिनी गाउँपालिकामा ४ सय २५, छत्रदेव गाउँपालिकामा ३ सय ९२, र मालारानी गाउँपालिकामा ५ सय ५४ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म भूमिकास्थान नगरपालिकाबाट ९२ जना, छत्रदेव गाउँपालिकाबाट ७४ जना, मालारानी गाउँपालिकाबाट ४४ जना र पाणिनी गाउँपालिकाबाट ३२ जना डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । अर्घाखाँचीका ६ स्थानीय तहका दुई सय ३८ क्वारेन्टाइनस्थलमा पाँच हजार दुई बेड तयार रहेका छन्।
उता अर्घाखाँचीबासीले जिल्लामा कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिन खरिद गर्न भनी निरन्तर दवाब दिदै आएका छन् ।