दुई दिनदेखि अवरुद्ध गोरूसिङगे सन्धिखर्क सडक खुल्न अझै केहि दिन लाग्ने

बिष्णु कुमार आले
 
सितापुर, अर्घाखाँची । बिगत दुईदिन देखी अवरूद्द गोरूसिङगे सन्धिखर्क सडकखण्ड अझै संचालनमा आउन सकेको छैन । दुई दिनदेखि परेको अबिरल बर्षाका कारण सडक खण्डको तिन दर्जन भन्दा बढि स्थानमा पहिरो जाँदा सडक संचालनमा ल्याउन कठिन भएको हो । 
शनिबार सडकखण्डको सितापुर राजुबाँस नजिकै गएको पहिरो हटाएपनि सुपादेउराली अगाडी खाँचीखोलाको उकालोमा करिव एक सय पचास मिटर माथी पहाडबाट ठुला चट्टान सहित खसेको पहिरो हटाउन दुई ओटा स्काबेटर प्रयोग गरि निकै प्रयास भईरहेपनि सडक संचालनमा ल्याउन कठिन भएको जिल्ला शसस्त्र प्रहरी प्रमुख माधव रेग्मीले बताए ।
निरन्तर दुई दिन देखि पहिरो हटाउने प्रयास भैरहेको छ । तर लामो दुरी सम्म धेरै माथीबाट ठुला ठुला चट्टान सहित पहाडै खसेपछि पहिरो नथपिएको खण्डमा झरेको पहिरो सोमबार बेलुका सम्म हटाएर सकिने अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए ।
जिल्लाको मुख्य सडक नै लामो समयदेखि अवरुद्ध भएपछि सामान ढुवानी गर्न, मानिस आवत जावत गर्न ठप्प भएको छ । सडक अवरुद्ध हुदा जिल्लाबाट अन्य जिल्लामा उपचार गर्न जानु पर्ने बिरामीले सास्ती खेप्नु परेको छ । शसस्त्र प्रहरी प्रमुख रेग्मीका अनुसार आईतबार बिहानै देखि दुई स्कावेटरले पहिरो हटाउने प्रयास गरेपनि पहिरो निकै जोखिमपूर्ण भएकाले सावधानी अपनाएर काम भैरहेको छ ।
गएरातीको अबिरल बर्षाका कारण पहिरोले सन्धिखर्क ६ जगत निवासी थान बहादुर महत्राको थारेघर पुरेपछि २ ओटा भैसी , ३ ओटा बाख्रा मरेका छन् । जिल्ला शसस्त्र प्रहरी बलका सप्रनानी नगेन्द्र खड्काको नेतृत्वमा उद्दारमा निस्किएकाे ९ जनाको शसस्त्र प्रहरीको टोलि र स्थानिय बासिन्दाले घटनास्थलमा पुगेर उद्दार गरेका थिए । पहिरोले २ लाख नगद, २५ तोला सुन लगायत अन्य जिन्सी सामाग्री पुरेको अवस्थामा फेला पारिएको थियो । यस्तै शीतगंगा ४ पोखडाँडा निवासी जोग बहादुर बेल्बासेको घर पहिरोले पुरेको छ । घर माथीबाट एक्कासी पहिरो आएको देखेपछि घरमा बस्दै आएकी ६७ बर्षिय एक महिला भागेर ज्यान जोगाउन सफल भएकी छन् । अर्का सोहि ठाउँकै सालिकराम जिसीको घर माथीबाट पहिरो खसेपछि बस्न योग्य नभएपछि छिमेकीको घरमा बस्दै आएकाे स्थानिय बिजय आचार्यले बताए ।
 शितगंगा ४ अमराई गोर्थुम निवासी दिपक बिकको घर पहिरोको उच्च जोखिममा परेको छ । जिल्लाको पाणिनी १ पणेना सिम्ले निवासी डोलराज गौतमको घर पनि पहिरोले पुरेको छ । घर माथी र घरको आगनबाट ठुलो पहिरो गएपछि गौतमको परिवार ज्यान जोगाउन अन्यत्र बसाई सरेका छन् ।

अन्य समाचारहरु