अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। पाँच दिनदेखि अवरुद्ध गोरुसिंगे सन्धिखर्क सडक मंगलवार अपरान्हदेखि खुलेको छ।
शुक्रबार राती नरपानीमा गएको पहिरो खस्ने क्रम नरोकिएपछि पाँच दिनदेखि गोरुसिंगे सन्धिखर्कसडक अवरुद्ध बनेको थियो । लगातार परेको अविरल वर्षाका कारण गोरुसिंगे सनिधखकै सडकको नरपानी र खाँचीखोलाको बीचमा पहिरो गएको थियो ।
पाँच दिनदेखि २ वटा डोजरले पहिरो पन्छाउने काम गरिरहेका थिए । पहिरो हटाउने प्रयास भएपनि पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको थियो ।
सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस ,अन्य सवारीसाधन आवतजावत गर्न पाएको थिएनन् ।
उता वर्षाका कारण अर्घाखाँचीमा अधिकांश ग्रामिण सडक पनि अवरुद्ध भएका छन् ।अर्घाखाँचीका विभिन्न ठाउँका बस्ती उच्च पनि जोखिममा परेका छन् ।
लगातारको वर्षाले सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकामा २ घर बगाएको छ । जिल्ला भर २१ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा परेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। सन्धिखर्क नगरपालिका-६ को नरपानीका १० घर , वडा नम्बर-७ को भुजुङ्गे गाउँमा पाँच घर पहिरोको उच्च जोखिममा परेको छ । यस्तै शितंगंगा नगरपालिका र मालारानीका विभिन्न बस्तीहरु पनि उच्च छन् ।
पहिरोको उच्च जाखिममा परेका मालारानी गाउँपालिका वडा नम्बर-४, खनका दुई घरपरिवारलाई स्थान्तरण गरिएको छ भने शितगंगा नगरपालिका वडा नम्बर-४, ठाडाका तीन घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।
त्यस्तै भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुराको एक घरलाई पनी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । वर्षाका कारण पाणिनि गाउँपालिकाको दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा क्षति पुगेको छ।
सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकअन्तर्गत दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढी आएपछि सामान खोलाले बगाउँदा ५० लाख बढीको क्षति भएको पुष्पाजेभिका सञ्चालक नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।
मालारानी र सन्धिखर्क जोड्न निर्माण गरिएको पुलमा पनि क्षति भएको छ । मालारानी र सन्धिखर्कको सिमाना नौलापानीमा पीटिआर कन्स्ट्रक्सनले करिब ३ करोडको लागतमा निर्माण गर्न लागेको पुल बगाएको कन्स्ट्रक्सनका सञ्चालक ऋषी अधिकारीले बताए ।