अर्घाखाँचीमा कोरोना फैलिएको छ-छैन पत्ता लगाउन निश्चित समुदायबाटै नमुना संकलन गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले समुदायमा कोरोना भाइरस फैलिएको छ–छैन पत्ता लगाउन निश्चित समुदायबाटै नमुना संकलन शुरु गर्ने भएको छ ।  
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले समुदायमा कोरोना भाइरस फैलिएको छ–छैन पत्ता लगाउन निश्चित समुदायबाटै पहिलो चरणमा अर्घाखाँची सहित प्रदेशका ६ जिल्लामा नमुना संकलन गरिने जनाएको हो । 
अर्घाखाँची सहित नवलपरासी,  रुपन्देही, बर्दिया, कपिलवस्तु र दाङबाट १२ सयजनाको रेन्डम स्याम्पलिङ विधिबाट नमुना छनोट गरिने मन्त्री सुदर्शन बरालले जानकारी दिए । यसका लागि स्वास्थ्यकर्मीको टोली परिचालन भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्री बरालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अब समुदायस्तरमा नमुना संकलन गर्न थालिएको जानकारी दिएका हुन् । 
अधिक जनसम्पर्क हुने स्थानहरू, वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री–वितरण गर्ने पसल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीबाट नमुना संकलन गरी परीक्षण गर्ने योजना रहेको उनले बताए । यसले समुदायमा जोखिमको अवस्थाबारे जानकारी दिने र सोही आधारमा  महामारी रोकथाम तथा नियन्त्रण योजना बनाइने मन्त्री बरालले बताए ।
प्रदेश ५ मा अहिलेसम्म चार हजार ९९ जनामा कोभिड पोजेटिभ देखिएको र तीन हजार सात सय ७१ जना निको भई घर फर्किसकेका छन् । अझै तीन सय १५ जना अस्पताल तथा ओइसोलेसन सेन्टरमा उपचाररत छन् । प्रदेशमा कोरोना संक्रमित १३ जनाले ज्यान गुमाएका छन् ।

अन्य समाचारहरु