अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची पाका, पुराना र लोकप्रिय नेता राम बसुले आफू अहिले पनि राष्ट्रिय जनमोर्चामै रहेको बताउनु भएको छ ।
केही दिन अघि राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीद्वारा जारी प्रेस विज्ञप्तीमा नेता बसुलाई राजमोको साधारण सदस्यताबाट समेत निस्कासन गरिएको उल्लेख थियो । नेता बसुले अध्यक्ष के.सी.द्वारा जारी उक्त विज्ञप्तीलाई नै पार्टीको नीति र विधान विरुद्धको कार्यको संज्ञा दिंदै प्रक्रिया र पद्धति समेत पूरा नगरी हचुवाको आधारमा आफूमाथि गरिएको कारवाही फिर्ता लिन पार्टी नेतृत्वसँग आग्रह गर्नु भएको छ ।
नेता बशुले २०७७ साउन ११ मा एक प्रेस वक्तव्य जारी गर्दै त्यस्तो आग्रह गर्नु भएको छ । वक्तव्यमा आफू अहिले पनि राजमोमै रहेको स्पष्ट पार्दै अध्यक्ष थम्मन के.सी.द्वारा जारी विज्ञप्तीको भ्रममा नपर्न न्यायप्रेमी जनसमुदायलाई अनुरोध गरिएको छ । जारी विज्ञप्तीमा अगाडि भनिएको छ–“राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.द्वारा २०७७ साउन ७ गते जारी प्रेस विज्ञप्तीप्रति मेरो गम्भीर रुपमा ध्यान आकर्षित भएको छ । उक्त प्रेस विज्ञप्तीमा म र बृद्धि गैरे समेतलाइ राष्ट्रिय जागरण अभियानमा सहभागी भएको ले राष्ट्रिय जनमोर्चाको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको उल्ल्लेख रहेछ । त्यस सम्बन्धमा आफ्नो स्थिति स्पष्ट पार्न यो प्रेस वक्तव्य जारी गरेको छु ।
१. ससर्वप्रथम त म स्पष्ट पार्न चाहान्छु कि राष्ट्रिय जागरण अभियान कुनै राजनैतिक पार्टी नभई विशुद्ध सामाजिक संस्था हो । यस प्रकारका संस्थाहरुमा सहभागी हुन हाम्रो पार्टीको नीति र विधानले कहीं कतै छेकवार गरेको छैन । पार्टीका अन्य कमरेडहरु पनि यस्तै प्रकृतिका सामाजिक संघ संस्थामा रहेर काम गर्दै आउनु भएको छ । त्यसैले राष्ट्रिय जागरण अभियानमा सहभागी भएकाले त्यो पार्टीको नीति विपरीत भएको जुन कुरा राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन के.सीको विज्ञप्तीमा उल्लेख छ– त्यो नै पार्टीको नीति विरुद्धमा रहेको छ । अध्यक्ष के.सी.लाई राजमोको विधान एक पटक राम्रोसँग अध्ययन गर्न म आग्रह गर्दछु ।
२. विश्व मानव समुदाय नै यो बेला कोभिड –१९ को महामारीको शिकार बनिरहेको छ । कोरोना संक्रमणबाट जोगिन जो जहाँ छ त्यही सुरक्षित तरिकाले बस्नु पर्ने अवस्थामा हामी छौं । यस्तो विकराल अवस्थामा पार्टीका सदस्यहरु को, कहाँ, कसरी बसिरहेको छ ? उसको अवस्था के छ ? पार्टी नेतृत्वले सोधखोज गर्नुपर्ने त्यो सामान्य नैतिकता र मानवीयतता भित्रको कुरा हो । पार्टी नेतृत्वको सामान्य बोलीले मात्र पनि पार्टीका नेता कार्यकर्ताहरुलाई ठूलो राहतको महशुसस हुन सक्दथ्यो । तर हाम्रो पार्टीको जिल्ला नेतृत्वले उपचारका लागि काठमाडौं आएको बेला लगडाउनमा परेपछि चार महिनासम्म काठमाडौं मै रोकिएर बसिरहेको मलाई सान्तवना र सहानुभूतिका एक शब्द पनि खर्चिएन । बरु उल्टै अहिले कारवाहीको ‘राहत’ पठाएको छ ।
३. यो सत्य हो कि पार्टीभित्र हाम्रा कैयौं विषयहरुमा भिन्नमत रहँदै आएका छन् । पार्टी नेतृत्वको तानाशाही र सामन्ती चिन्तन एवं कार्यशैलीको हामीले पार्टीको नीति अन्तर्गत रहेर नै विरोध गर्दै आइरहेका छौं । अहिले म र बुद्धि गैरेजीलाई पार्टीबाट निस्कासन गरिएको उहाँहरुको प्रेस विज्ञप्ती हाम्रो त्यो भिन्न विचार माथि गरिएको नांगो हस्तक्षेप र दमन हो । त्यो विज्ञप्तीबाट उहाँहरुको वैचारिक स्तर कति दरिद्र रहेछ भन्ने छरपष्ट भएको छ । म यो प्रेस वक्तव्य मार्फत उहाँहरुलाई स्पष्ट पार्न चाहन्छु– त्यस प्रकारका हस्तक्षेप र दमनबाट हाम्रो आस्था डगमगाउने छैन बरु झनै मजबुत बन्ने छ ।
४. मलाई राष्ट्रिय जनमोर्चाको नेता कार्यकर्ताका रुपमा चिन्नु हुने सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीद्वारा २०७७ साउन ३ मा जारी प्रेस विज्ञप्तीको भ्रममा नपर्न हार्दिक आग्रह गर्दै म अहिले पनि राष्ट्रिय जनमोर्चामै रहेको स्पष्ट पार्न चाहान्छु । जिल्ला पार्टी नेतृत्वलाई पनि म विशेष अनुरोध गर्न चाहान्छु–एउटा सामाजिक संस्थामा बसेकै आधारमा प्रक्रिया र पद्धति समेत पूरा नगरी हचुवाका आधारमा म माथि गरिएको कारवाहीको निर्णय फिर्ता लिनु नै पार्टी हितमा हुनेछ ।”
