अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला विपद् व्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितीको बैठक सम्पन्न भएको हो । बैठकले कोरोना रोकथाम सम्बन्धमा भएका पहलहरुको बारेमा समिक्षा गर्नुका साथै बाढी पहिरो नियन्त्रणका लागि १५०० थान तारजाली उपलव्ध गराउने समेत निर्यण गरेको छ ।
यस्तै बैठकले समुदाय स्तरमा कोरोना टेष्टको लागी कम्तीमा २००० थान भिटिएम किट र प्रादेशिक सिसिएमसीबाट माग गर्ने निर्णय गरेको छ ।
बैठकमा शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसा, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, नेकपाका प्रतिनिधी पिताम्बर भुसाल, नेपाली कांग्रेसका प्रतिनिधी विष्णु भुसाल लगायतका राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।