अर्घाखाँचीभर चाड पर्वलाई ध्यानमा राखेर व्यापक प्रहरी परिचालन, २४ सै घण्टा प्रहरी गस्ती

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नजिकिदै गरेको नेपालीहरूको महान् चाड दशैं, तिहार र छठको अवसरमा हुने बिभिन्न किसिमका आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण एवं रोकथाम गर्न व्यापक प्रहरी परिचालन गर्न लागिएको छ।  
कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाभर ठुलो संख्यामा प्रहरी परिचालन गर्न लागेको हो।   
अर्घाखाँची प्रहरीले चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, जुवा, अबैध मदिरा बिक्री बितरण नियन्त्रण गर्न ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घण्टा गस्ती गरिने जनाएको छ।
साथै प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने बताएको छ । कोही कसैलाई कुनै समस्या परेमा २४ सै घण्टा प्रहरी निरक्षक राम नारायण गुप्ता ९८५७०८६०९९ वा ०७७-४२०२९९ मा फोन गर्न सकिनेछ । 
यस्तै नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन अर्घाखाँची प्रहरीले अनुरोध गरेको छ। कोरोना महामारी फैलिनबाट जोगिने र अनावश्यक खर्च पनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो।
उता सदरमुकाम सन्धिखर्कको शान्तीबगैँचामा प्रहरीले नेपालीहरुको महान चाड दशै, दिपावली तथा छठ पर्वलाई ध्यानमा राखेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा जिल्ला सन्धिखर्कको शान्तीबगैँचामा नेपालीहरुको महान चाड दशै, दिपावली तथा छठ पर्वको समयमा मानिसहरुको आवागमन बढ्ने, सवारी साधनहरुको चाप बढ्दै जाने भई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको समेतमा असहजता हुन सक्ने, सवारी साधनहरुको अस्वभाविक प्रतिस्पर्धा हुन गई सवारी दुर्घटना समेत बढ्न सक्ने साथै हाल दिन प्रतिदिन बढ्दै गईरहेको कोरोना भाईरसको संक्रमण दर समेतलाई विशेष ध्यान दिई चाड पर्वको समयमा यात्रुहरुलाई आवश्यक सहयोग एवं सहजता पुर्‍याउन सक्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको हो । 

अन्य समाचारहरु